धरान : जङ्गली हात्ती लगायत जनावरहरूबाट भइरहेको जनधनको क्षति न्यूनीकरण गर्न सरकार विशेष योजना तथा कार्यक्रम बनाउने कार्यमा लागेको बन तथा वातावरण मन्त्री रुपा विश्वकर्मा पोखरेलले बताएकी छन् ।
कोसी प्रदेशको मध्य तराई क्षेत्रमा विशेष गरी बढेको हात्ती आतङ्क र त्यसबाट भइरहेका जनधनको क्षतिको उल्लेख गर्ने उनले भनिन् ‘हात्ती लगायत जङ्गली जनवारबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले विशेष योजना र कार्यक्रम तर्जुमा ल्याउने छ ।’
काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी राज्यमन्त्री रुपा विश्वकर्मा पोखरेल कोसी प्रदेशमा जङ्गली जनावारवाट अतिक्रमित क्षेत्रको निरीक्षण भ्रमण गरी फर्केको बेला शुक्रवार धरानमा आयोजित कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएकी हुन । कार्यक्रम काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले आयोजना गरेको हो ।
मन्त्री विश्वकर्मा पोखरेलले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न वन र जैविक विविधता संरक्षण गर्न सबैको भूमिका अपरिहार्य रहेको बताइन् । यी कुरा मानव जीवनका लागि अति आवश्यक भएकाले सरकारले वन, जङ्गल, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणका लागि काम गरिरहेको स्पष्ट गरिन् ।
उनले कोसी प्रदेशको हात्ती लगायत जङ्गली जनावारवाट अतिक्रमित क्षेत्रको भ्रमण गरेको बताउँदै भनिन् ‘पीडित क्षेत्रको अवलोकन र सरोकारवाला पक्षहरूसँग भेटघाट गरेर स्थिति बुझेकी छु क्षति न्यूनीकरणका विशेष योजना र कार्यक्रम तर्जुमा गर्नेछ ।’
काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको सभापतित्वमा भएको भेटघाटमा क्षेत्रीय सहसचिव सुमित राईले सञ्चालन गरेका थिए । पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, काँग्रेस प्रदेश सदस्य गणेश परियार र अन्जना राई, दलित सङ्घका प्रदेश सभापति गोविन्द दर्नाल लगायत उपस्थित थिए ।