धरान : सम्यक शिक्षा समूह स्थापना भएको ३२औँ वार्षिकोत्सवमा दृष्टिविहीनलाई सेतो छडी, अपाङ्गता भएकालाई बैसाखी र ज्येष्ठ नागरिकलाई जाडोमा ओढ्ने कम्बल वितरण गरेको छ ।
सशस्त्र प्रहरी बल ४ न गणका प्रमुख समेनन्द बज्राचार्यको प्रमुख आतिथ्यमा गत: बिहीबार सम्पन्न वार्षिकोत्सवमा सम्यकले १७औँ पटक कमजोर र पीडामा रहेकाहरूलाई राहत सामग्री वितरण गरेको हो ।
स्वयम्भू चैत्य महाविहारमा भएको कार्यक्रममा फरक क्षमता भएका ६ जना दृष्टिविहीन विद्यार्थीलाई सेतो छडी र कम्बल, १५ जना ज्येष्ठ नागरिकहरूलाई लौरो र कम्बल र ४ जनालाई बैसाखी र कम्बल प्रदान गरियो ।
वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि बज्राचार्यले संस्थाको अक्षयकोषको लागि १० हजार रुपया नगद प्रदान गरेका छन् ।
यसैगरी नेवार एकता महिला समितिले १५ सय ५ रुपैयाँ, विद्या शाक्यले ५ हजार, अनुपमा शाक्यले २ हजार ५ सय, बबि शाक्यले २ हजार ५ सय, पूर्ण मास्केले २ हजार ५ रुपैयाँ प्रदान गरेका छन् ।
वार्षिकोत्सवमा सम्यकका पूर्व अध्यक्षहरूलाई सम्मानित गरिएको छ । सम्मानित पूर्व अध्यक्षहरूमा देवेन्द्र शाक्य, सन्दीप शाक्य, अमृतमान शाक्य, हरिकृष्ण श्रेष्ठ र चन्द्रमाया शाक्य थिइन् ।
सोही अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरीका नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले र धरान जेसीजकी अध्यक्ष आयुष्मा शाक्यलाई बधाई ज्ञापन गरिएको थियो । सहयोगी संस्था रोटरी क्लब अफ काष्ठमण्डपका पूर्व अध्यक्ष निरजन भट्टराईलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरियो ।
समूहका अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा भएको समारोह सञ्चालन सहसचिव दीपेन्द्र श्रेष्ठले गरेका थिए ।