धरान : धरान राउण्ड टेबलले सहिद स्मृति माध्यमिक विद्यालयका १२५ जना विद्यार्थीलाई जाडोमा लगाउने स्विटर वितरण गरेको छ ।
धरान-८ स्थित स्कुलमा आइतबार आयोजित कार्यक्रममा नर्सरी देखि कक्षा ५ सम्मका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई निःशुल्क स्वेटर वितरण गरेको राउण्ड टेबल धरानका अध्यक्ष निमेष अग्रवालले बताए ।
राउण्ड टेबलले धरानले सामुदायिक विद्यालयहरूलाई भौतिक लगायत विभिन्न सहयोग गर्दै आएको उनले बताए । अग्रवालले भने ‘आउँदा दिनमा पनि आवश्यकता र ठाउँ हेरेर सहयोग जारी राख्ने छौँ ।’
प्रधानाध्यापक रामबहादुर विष्टले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य भोला श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रम सञ्चालन शिक्षक राजन वनले गरेका थिए ।