धरान : 'धरान प्लस टु अरेटरी च्यालेन्ज'को मङ्गलवार सम्पन्न पहिलो अडिसनबाट १७ जना प्रतिस्पर्धीहरू सेमिफाइनलका लागि छनोट भएका छन्।

र्याडीकल लाइट नेपाल धरानले धरान-८ स्थित सहिद स्मृति माविको सभा हलमा आयोजना गरेको अडिसनबाट १७ जना विद्यार्थी सेमिफाइनलमा प्रवेश गरेका हुन । 

सेमिफाइनलमा प्रवेश गर्नेहरूमा शिक्षा निकेतन माविबाट पूजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना माविबाट सृष्टि लुइँटेल रहेका छन् ।

यसैगरी धरान आदर्श बोर्डिङ माबिका राज कट्टेल र आकृति शङ्कर, शिक्षा सन्देश सेकेण्डरी बोर्डिङका देवका कार्की, पब्लिक मावि फुस्रेका खुस्बु शर्मा र बाल कुमार राई, डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेका छन्।

अन्य सेमिफाइनलमा प्रवेश गर्नेहरूमा धरान-मेघा हिमालयनका क्याथ्रीन योन्जन, किरातेश्वर माविका दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान माविका स्मृति लिम्बु रहेका छन् ।

सहभागीहरूले 'बढ्दो भ्रष्टाचारले देश विकासमा पार्ने असर' शीर्षकमा बोलेका थिए। बिद्यार्थीहरुको आत्मविश्वासमा अभिवृद्धि गरी व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष तीर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश विद्रोही र सहिद स्मृति म.बि.का शिक्षक टङ्क भट्टराई थिए ।

धरान उपमहानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना बिद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा सहिद स्मृति माविका प्रधानाध्यापक राम बहादुर विष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठको उपस्थिति थियो ।