धरान : नेपालमा विज्ञहरूले आशङ्का गरेअनुसार प्राकृतिक विपद् प्रतिकार्यमा सरकारले विगतको तुलनामा क्षमता विकास गरेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
भूकम्प सुरक्षा दिवसका अवसरमा आज बुधवार काठमाण्डौको कीर्तिपुरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले उनले भने ‘विपद् प्रतिकार्यको पूर्व तयारीमा मुलुक विगतको तुलनामा अघि बढेको छ ।’
उनका अनुसार विपद्को बेला अत्यावश्यक सामाग्रीहरू भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघरहरु सातै प्रदेशमा निर्माण गरेको छ । गृहमन्त्री लेखकले भने ‘त्यसको सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदाम घर हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।’
विपद्का घट्नामा खोज, उद्धार तथा राहतका लागि प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरू तयार रहेको उनले बताए । सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरूको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको छ ।
गृहमन्त्री लेखकले २७ औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा भने ‘आगामी दिनहरूमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाइने छ ।’ सरकारी निकाय, निजी क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पुर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिने उनले बताए ।
सचेतना बढाउन परम्परागत प्रविधिसँगै नयाँ प्रविधिहरूलाई अधिकतम प्रयोगलाई प्रोत्साहित गर्ने सरकारले नीति, कार्यक्रम अघि बढाउने उनको भनाई थियो ।
गृहमन्त्रीले जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिक निम्ति अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँ सरकारले सहयोग गर्ने बताउन । अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भई लागू भइसकेको उनले जानकारी दिए ।