धरान : नेपाल विद्यार्थी सङ्घले त्रिविद्वारा क्याम्पस प्रमुख नियुक्तिमा गरिएको अपारदर्शी भएको आरोप लगाउँदा त्रिवि उपकुलपति प्राध्यापक केशरजङ्ग बरालको कार्यकक्षमा आज बिहीबार तालाबन्दी गरेको छ ।

नेविसङ्घले त्रिवि उपकुलपति, रजिस्ट्रार र रेक्टरको विरोधमा तालाबन्दी गरेको हो । आफ्ना निकटका मान्छेलाई त्रिविका आङ्गिक क्याम्पसहरूमा प्रमुख नियुक्त गरेको नेविसङ्घले आरोप लाएको छ ।

तालाबन्दीका कारण उपकुलपति बराल बिहीबार कार्यालयमा हाजिर भएनन् । नेविसङ्घले रजिस्ट्रार प्राध्यापक केदार रिजाल र रेक्टर प्राध्यापक खड्ग केसीलाई बर्खास्त गर्न उपकुलपतिलाई चेतावनी दिएको छ । चेतावनी कार्यालयको ढोकामा टाँसिएको छ ।

उपकुलपति बराल सुरक्षाको कारण कार्यालय नआएको त्रिविका प्रवक्ता यमनसिंह बोहराले जानकारी दिएका छन् । त्रिविको स्नातक र स्नातकोत्तर तहमा भर्ना रोकिएको भन्दै नेविसङ्घले विरोध गरेको नेविसङ्घ त्रिविका सभापति विष्णु बडैलाले बताए ।

त्रिविले भने विद्यार्थीको माग आए लगत्तै भर्ना अवधि बढाएको जनाएको छ । नेविसङ्घ त्रिवि उपकुलपति कार्यकक्षमा रेक्टर रजिस्ट्रारलाई बर्खास्तको माग गर्दै चेतावनीपत्र टाँस गरेको छ ।

सभापति बडैलाले तालाबन्दी साङ्केतिक विरोध मात्र भएको बताएका छन् । उनले क्याम्पस प्रमुख नियुक्तिमा मेरिटोक्रेसी नअपनाइएको बताए ।