धरान : भारतीय सीमाक्षेत्रबाट ब्राउनसुगर नेपाल भित्राउने आशङ्का गरिएका ३ जनालाई प्रहरीले २ ठाउँबाट २०७ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर सहित बिहीबार राती झापाको मेचीपुलबाट पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार अहिले सम्म बरामद भएको ब्राउनसुगरमा यो ठुलो परिमाण हो ।
पक्राउ पर्नेमा भारत दार्जिलिङका ३० वर्षीय मोहम्मद अनवर हसेन, अर्जुनधारा नपा-८ का ३५ वर्षीय अर्जुन श्रेष्ठ, भद्रपुर-३ की ४५ वर्षीय दोमासी राजवंशी छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा चेकजाँच गर्दा मेची पुलमा हुसेन र श्रेष्ठलाई ६ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर र नेपाली रुपैयाँ २० हजार सहित पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उनीहरूसँग सोधपुछ गर्दा थप भद्रपुर-३ दोमासी राजवंशीको घर खानतलासी गरी लुकाई राखेको २०१ ग्राम १९० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो ।
लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भईरहको छ ।