विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघ ७ देखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा नयाँ विधेयक र संशोधन गर्नुपर्ने ऐन तयार अवस्थामा राख्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा शुक्रवार निर्देशन दिँदै उनले भने ‘२०७७ साल पछिको सबै भन्दा प्रभावकारी र राम्रो यही अधिवेशन बनाउने तर्फ हामी लागौँ ।’

प्रदेश सभामा मन्त्रालयका विषयमा उठेका विषयहरू सम्बन्धित मन्त्रीले ढिलोमा एक हप्ता भित्र जवाफ दिने गरी तयारी गर्न पनि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई आग्रह गरे ।

उनले सहमतिका लागि गएको फाइलहरू अड्किँदा काम ढिलो भएको बताए । मुख्यमन्त्री कार्कीले भने ‘एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, २ दिनदेखि ५ दिनभित्र टुङ्ग्याउनु होला ।’

समीक्षा गोष्ठीमा उनले जेठ १५ गते भित्र अन्तर्क्रिया गोष्ठी जस्ता कार्यक्रमहरू सक्न निर्देशन दिदैं उनले भने ‘जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चार वटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन् ।’

कम्तीमा हप्तामा तीनदेखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न मुख्यमन्त्रीले आग्रह गरे । उनले भने ‘हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन, पफर्मेन्स गर्न लागौँ, बेरुजू फर्स्यौट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ ।’

सरकारले गरेका सन्धि, सम्झौता, दिगो विकासका लक्ष्य लगायतलाई ध्यान दिएर मानवीय विकासमा काम गर्न पर्ने अवस्था रहेकोमा मुख्यमन्त्री कार्कीले जोड दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले ऐन र नियमावली मार्फत काम गर्नु पर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी अघि बढ्ने बताए ।

प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरूले समयसीमा अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले एकै पटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने तरिका ठिक नहुने बताए । पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नु पर्नेमा उनले जोड दिए ।समीक्षा गोष्ठीमा प्रदेश सरकारका सबै मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो ।