मोरङ : मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
सुन्दरहरैंचा नगरपालिका-८ का ७१ वर्षका हरि प्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
केही महिना यतादेखी सुन्दरहरैंचाका उत्तरी क्षेत्रमा हात्ती आउने गरेका छन् । गएराति १ बज्न लाग्दा घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
बच्चासहित आएको माउ हात्तीले घिमिरेमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै ज्यान गएको थियो ।
घिमिरेको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।