धरान : नेपाल कबड्डी लिग एनकेएलको दशरथ रङ्गशाला काठमाण्डौमा सुरु भएको प्रतियोगितामा शुक्रवार सम्पन्न उद्घाटन खेलमा काठमाडौँले पोखरा लेकर्सलाई ४२-४१ ले पराजित गरेको छ ।

काठमाडौँ माभरिक्सको विजयी सुरुआतसँगै काठमाडौँले पाँच अङ्क जोडेको छ ।

काठमाडौँले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो । तर, एक समय पोखरा कमब्याक गर्दै ६-८ को स्थितिमा फर्कियो । तर, काठमाडौँका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौँले अग्रता दोब्बर बनायो ।

पोखरा खेलको १०औँ मिनेट नबित्दै पहिलोपल्ट अलआउट भयो र, पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो । योसँगै काठमाडौँ पहिलो हाफमा १४-२५ को फराकिलो अग्रता लिन सफल भएको हो ।

दोस्रो हाफको मध्यतिर भने पोखरा खेलमा पुनरागमन भयो । खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँदा पोखरा ३२–३६ को स्थितिमा आइपुग्यो । सोही समय कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो । लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जनालाई आउट गर्दै खेल ३६-३६ को स्थितिमा ल्याए ।

त्यसपछि पोखराले काठमाडौँमाथि निरन्तर दबाबमा राख्दै खेल ४०-३८ को स्थितिमा ल्यायो। त्यसपछि दुवै टोलीले थप एक अङ्क जोडे । यद्यपि, रेइडर्स घनश्यामले आफ्नो अनुभव कोर्टमा खन्याउँदै अन्तिम दुई मिनेट बाँकी रहँदा तीन खेलाडीलाई रेडमा आउट गर्दै काठमाडौँलाई पुनरागमन गराए । उनी नै म्यान अफ द म्याच भए ।