धरान : मारवाडी सेवा समितिद्वारा आज शनिवार आयोजित स्वास्थ्य शिविरमा ९४१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरसँगै भएको रक्तदानमा ५३ प्रिन्ट रगत सङ्कलन भएको छ ।
शिविरमा मधुमेह र मुटु रोग भएका २३५ जना, हाडजोर्नी नशा रोग पीडित ६५, स्त्री रोग समस्याका ५५, दाँतको समस्याका ११६ जना र २२२ जनाले आँखा परीक्षण गराएको शिविरका मूल संयोजक रामस्वरुप शर्माले बताए ।
उनका अनुसार शिविरमा इसीजी तथा इको परीक्षण १३४ जना, पिएफटी ११४ जनाको परीक्षण गरिएको छ । निःशुल्क शिविर धरान-१२ स्थित पब्लिक स्कुलमा परिसरमा सञ्चालन भएको हो ।
शिविरमा विपी प्रतिष्ठानका प्रा.डा. सञ्जीव शर्मा, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, डा.खुश्वु अग्रवाल, डा.नदन श्रेष्ठ, डा. इच्छा जोशीले स्वास्थ्य परामर्श दिएका थिए ।
मारवाडी सेवा समितिले शिक्षा, स्वास्थ्य सेवाका साथै आर्थिक रूपमा विपन्न परिवार तथा सडक बालबालिकाको कल्याणका कार्यहरू पनि गर्दै आएका संयोजक शर्माले बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथि थिए । उद्घाटन कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष पित्तरुमल अग्रवालले गरेका थिए ।