विराटनगर : प्रहरीहरूलाई दुर्घटना तथा विपद्, प्राकृतिक प्रकोपका घटनाहरूमा उद्धार कार्यसँगै पीडित घाइतेलाई तत्काल पहिलो उपचार प्रहरीबाटै गरिने ‘मेडिकल फर्स्ट रिस्पोण्डर’ तालिम प्रदान गर्न थालिएको छ ।
तालिम कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिन थालेको हो । प्रदेश प्रहरीको सभाहलमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास भट्टराईले आज मङ्गलवार बिहान पहिलो तालिमको उद्घाटन गरेका छन् ।

तालिमको महत्वमा प्रकाश पार्दै भट्टराईले घटनाहरूमा घाइते भएका मानिसहरूलाई तत्काल उद्धार गर्न पुगेको प्रहरी टोलीले प्राथमिक उपचार सम्बन्धी ज्ञान हासिल गर्न अनिवार्य रहेको हुँदा तालिम सञ्चालन गरिएको बताए ।
नायव उपरीक्षक भट्टराईले भने ‘जुनसुकै घटनामा तत्काल प्राथमिक उपचारको लागी घटनास्थलमा स्वास्थ्यकर्मीहरू सहजै उपलब्ध हुँदैनन्, प्रहरीबाटै घाइतेहरूलाई घटनास्थलमा गरिने प्राथमिक उपचारले तत्काल मृत्यु हुनबाट बचाउन सकिन्छ ।’
पहिलो उपचारले मृत्युको मुखमा पुगेका घाइतेहरूलाई अस्पतालसम्म पुग्दाको समयमा हुने पिडालाई कम गर्न मद्दत मिल्ने उनको भनाई थियो ।
तालिमको पहिलो चरणमा कोशी प्रदेशका प्रहरी कार्यालयहरूका जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी सहभागी छन् । तालिम अवधि ५ दिन रहेको बताइएको छ ।