धरान : बिजुलीबाट चल्ने स-साना कुराले पनि करेन्ट लागेर मानिस मर्ने गरेको हुँदा त्यस्तो चीज चलाउँदा सतर्क रहनु जरुरी छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलाममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर शनिवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माई नगरपालिका-८ का ४६ वर्षीय मदनकुमार राई छन् । घरमा कोही नभएको बेला मोबाइल फोन चार्ज गर्दा उनलाई करेन्ट लगेको हो । घरका मानिसहरू आउँदा राईलाई मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी झापाको कनकाई-१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्दै गर्दा अचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।