इटहरी : मोरङको सुन्दरहरैचामा २५ करोड लागतमा गोदावरी रिसोर्ट खुलेको छ । यसअघिको त्रिवेणी रिसोर्टलाई पुनर्संरचना गरेर गोदावरी सञ्चालनमा आएको हो । पूर्वी नेपालमा तारे होटेल र रिसोर्टमा लगानी व्यापक भइरहेको बेला सुन्दरहरैचा ४ मा खुलेको गोदावरीले अर्को स्वाद दिन लागेको छ ।
पुरानो संरचनालाई थप व्यवस्थित बनाएर रिसोर्टको प्रचारप्रसार गर्ने तयारी रहेको सञ्चालक रमेश खड्काले बताएका छन् । रिसोर्टको रेस्टुरेन्टमा नेपाली तथा विदेशी परिकारका खानेकुरा सहित आरामदायी कोठाहरू सञ्चालनमा आइसकेको उनको भनाइ छ । बाल उद्यान, बोटिङ तथा सेमिनार हल सहित क्याम्प फायरिङको लागि पनि रिसोर्ट उपयुक्त गन्तव्य हुने खड्काको विश्वास छ ।

बजार र बस्तीबाट टाढा रहेकाले प्राकृतिक वातावरणमा रमाउने आगन्तुकको लागि उपयुक्त गन्तव्य हुने विश्वास लिइएको छ । १० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई पर्यटन वर्ष २०८२ को प्रयोजनमा थप चलायमान बनाइने बताइएको छ ।