सुनसरी : ड्राइभिङ स्कुल सङ्घ नेपाल कोशीको अध्यक्षमा शिव श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सुनसरीको हेभि ड्राइभिङ स्कुल सञ्चालक श्रेष्ठ प्रदेशभरि कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेका ४६ स्कुल सञ्चालक व्यवसायीहरूको छाता संस्थाको नेतृत्वमा पुगेका हुन् ।

शनिवार मोरङको सुन्दरहरैँचामा सम्पन्न सङ्घको दोस्रो अधिवेशन उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला एवम् कानुन मन्त्री रेवतीरमण भण्डारीले निर्वाचित श्रेष्ठ नेतृत्वको समितिलाई बधाई दिँदै आन्तरिक रूपमा रोजगारी सृजना गर्ने व्यावसायिक टिमलाई बधाई ज्ञापन गरे । उनले राज्यलाई कर तिरेर समाजमा दक्ष जनशक्ति तयार पर्ने संस्थाप्रति सरकारको साथ रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले देश भित्र र बाहिर रोजगारीको सिलसिलामा पुगेका युवालाई सीपयुक्त बनाउन ड्राइभिङ स्कुलले ठुलो भूमिका खेलेको बताए । उनले राज्यले तोकेको मापदण्ड भित्र रहेर सञ्चालनमा रहेका स्कुलहरूले राज्यलाई कर मात्र तिर्ने नभई आन्तरिक रोजगारी सृजना गर्ने कर्ममा समेत तल्लीन रहेको बताए ।

उनका अनुसार कोशी प्रदेशमा मापदण्ड पुरा गरेर सञ्चालनमा रहेका ४६ स्कुल रहे पनि अन्य स्कुलहरूलाई समेत मापदण्ड पुरा गराएर नियमबद्ध सञ्चालनका लागि सघाउन पुर्‍याउने क्रम जारी छ । कोशी प्रदेश भित्रका ड्राइभिङ स्कुलहरूले मात्रै करिब ५० करोड बराबरको लगानी गरेका छन् भने ५ सय बढी व्यक्तिले उक्त स्कुलमा प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

श्रेष्ठ नेतृत्वको नयाँ समितिमा प्रथम उपाध्यक्ष साधुराम थापा, उपाध्यक्ष योगेन्द्र पोख्रेल, सचिव भूपेन्द्र बहादुर थापा, सहसचिव अनन्त घिमिरे, कोषाध्यक्ष विकाश राई, सदस्यहरूमा क्रमशः अर्जुन पनेरु, सुमित्रा चौधरी, पर्शुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, मीनकुमार खवास र बुद्ध राई रहेको निर्वाचन आयुक्त प्रेम प्रसाद पोख्रेलले जानकारी दिए ।

ड्राइभिङ स्कुल सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजकुमार गुरुङले नयाँ नेतृत्वलाई बधाई दिँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।