धरान : धरानमा तेस्रो पटक हुने भएको विवाहित गृहणीहरुको कोशी प्रदेश फेशन सो ‘मिसेस स्टेट २०२५’ का सहभागीहरूको पहिलो अडिसन शनिवार भएको छ ।
प्रतियोगिता डव्लुडव्लुजी वुमन्स वर्थ ग्रुपले आयोजना गर्न लागेको हो । मिसेस स्टेट फेशन शोका ग्राण्ड फिनाले जेठ १७ गते धरान–१६ स्थित गुरुङ विविक्यु पार्टी प्यालेसमा हुनेछ ।
मिसेस स्टेट सिजन–३ को पहिलो अडिसनमा ८ जना गृहिणी महिला सहभागी थिए । धरान पुतली लाईन हाङकुक साराङ रेस्टुरेन्टको हलमा अडिसन भएको हो ।
वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा भएको अडिसनमा निर्णायकहरू महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष सामाजिक अभियन्ता शिला वज्रचार्य, कोरियोग्रफर डिजे ललित राई, मिसेस स्टेट–१ विजेता सम्झना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषणबाबु श्रेष्ठ रहेका थिए ।
अडिसनको औपचारिक कार्यक्रममा सहभागीहरूलाई ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्री बारे प्रकाश पारेकी थिइन् । सिजन–१ विजेता सम्झना विकले मिसेस स्टेट बारे आफ्नो अनुभव सेयर गरेकी थिइन् ।
अडिसन ११ बजे देखि २ बजे सम्म चलेको थियो । दोस्रो अडिसन वैशाख १३ गते शनिवार पुतलीलाईन चौथो रेस्टुरेन्टमा हुने ग्रुपका सचिव ज्योति राईले बताएकी छन् ।
मिसेस स्टेट २०२५ की विजेता, फस्ट रनर अप र सेकेन्ड रनर अफले जनही क्रमशः नगद ५१ हजार रुपैयाँ, २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ, क्राउन, ट्फि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।
टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहने छन् ।