धरान : शिक्षक आन्दोलनका कारण पछि सरेको कक्षा १२ को परीक्षा आज आइतबार देखी देशभर सुरु भएको छ । परीक्षा आज आइतबार वैशाख २१ देखी जेठ २ गते सम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा धरानका कुल ५ हजार ४७४ विद्यार्थी सहभागी भएका छन् । त्यसमा १६ सामुदायिक विद्यालय र २७ संस्थागत समेत ४३ स्कुलका विद्यार्थीहरू छन्।
जिल्ला विकास तथा समन्वय इकाईका निमित्त इकाई प्रमुख रुद्र राईका अनुसार धरानमा १२ वटा परीक्षा केन्द्रमा सामुदायिक विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
त्यसमा नियमित तर्फ १ हजार ६७० जना र आंशिक १ हजार १७६ समेत कुल २ हजार ६२८ विद्यार्थी छन् ।
संस्थागत २७ वटा विद्यालयबाट नियमित तर्फ २ हजार ९५७ र आंशिक तर्फ ५७१ समेत कुल २ हजार ६२८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेको निमित्त प्रमुख राईले बताए ।
परीक्षामा धरानबाट सामुदायिक र संस्थागत तर्फ नियमित ३ हजार ७२७ र आंशिक तर्फ १७४७ विद्यार्थीहरू परीक्षामा सहभागी छन् । सुनसरी जिल्लामा कुल ३८ परीक्षा केन्द्रमा १५ हजार ५७१ विद्यार्थी परीक्षा सामेल रहेका छन् । नियमित तर्फ ११ हजार ४३८ र आंशिक ग्रेडबृद्धि तर्फ ४ हजार १३३ परीक्षामा सामेल छन् ।
देशभर कुल ४ लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सामेल रहेको बताइएको छ । त्यसमा नियमित तर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरू सहभागी भएको जनाएको छ ।