वराहक्षेत्र : बृहत्तर वराहक्षेत्र विकास समितिका पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।
बुधवार चतरा स्थित बृहत्तर वराहक्षेत्र विकास समितिको कार्यालयमा अध्यक्ष सहितका पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।
सुनसरीको वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभुमि गाउँपालिका  भित्र रहेका धार्मिक क्षेत्रको विकास, प्रवर्धनकालाई बृहत्तर वराहक्षेत्र विकास समितिको स्थापना भएको थियो ।
२०६६ सालमा नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहने गरी स्थापना गरेको बृहत्तर वराहक्षेत्र विकास समिति हाल कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको छ ।
बुधवार आयोजना भएको पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता,जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, वेलका नगरपालिका प्रमुख अशोक कार्की, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयका अधिकारीहरू, लगायतको उपस्थिति रहेको बृहत्तर वराहक्षेत्र विकास समितिका लेखापाल गौरी रायले जानकारी दिए ।
रायका अनुसार बृहत्तर वराहक्षेत्र विकास समितिको पहिलो बोर्ड बैठक समेत सम्पन्न भएको छ । बैठकले भावी योजना, लक्ष्य, कार्यक्रम लगायत विषयमा छलफल गरी निर्णय समेत गरेको छ ।
कोसी प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णयअनुसार बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्षमा वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरा बजार निवासी प्रकाश बस्नेत नियुक्त भएका थिए ।
बृहत्तर वराहक्षेत्र विकास समितिका कार्यकारी सदस्यमा वराहक्षेत्र नगरपालिका वडा नं.२ प्रह्लाद भट्टराई, बेलका नगरपालिका (ठोक्सिला) निवासी लक्ष्मीराज अधिकार, वराहक्षेत्र-६ निवासी टीका कुमारी श्रेष्ठ नियुक्त भएका थिए ।
समितिको पदेन सदस्यको रूपमा बृहत्तर वराहक्षेत्र विकास समितिका भित्र पर्ने जिल्ला समन्वय समितिका सभापति, स्थानीय सरकारका प्रमुखहरू, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरू, राधाकृष्ण भक्ति साधना आध्यमिक प्रतिष्ठानका पिठाधिस वा निजले तोकेको प्रतिनिधि, मालपोत कार्यालयका प्रमुखहरू रहने छन् ।