धरान : नेपालको उत्तरी तत्कालीन सीमा क्षेत्रका तिब्बती, मध्य पहाडी क्षेत्रका लेप्चा, सेन, राय र तराई क्षेत्रका कोच समुदायसँग लिम्बु जातिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सम्बन्धका बारेमा लेखिएको खोजमूलक पुस्तकलाई १ लाख रुपैयाँको पुरस्कार प्रदान गरिने भएको छ ।

स्वर्गीय कृष्णविक्रम नेम्वाङ लिखित ‘लिम्बु इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ पुस्तक गत वर्ष २०८० मा मुन्धुम एकेडेमी काठमाण्डौले प्रकाशित गरेको हो ।

उक्त पुस्तकलाई लिम्बुवान अध्ययन केन्द्र काठमाडौँ द्वारा स्थापित नगद १ लाख रुपैयाँ सहितको ‘विष्णुदत्त सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार २०८१’ प्रदान गरिने भएको हो ।

केन्द्रका अध्यक्ष पूर्व प्रशासक भगिराज इङनामद्वारा बिहीबार जारी विज्ञप्तिमा पुस्तकमा नेपालको आदिवासी जाति लिम्बु समुदायको इतिहास पहिल्याउन उनीहरूको तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्धको तथ्य उजागर गरिएको उल्लेख गरेका छन् ।

पाँचथर पौवा सारतापका लेखक अध्येता नेम्वाङ पछिल्लो समय ललितपुर, चिवहाल, सुनाकोठी बस्दै आएका थिए । उनको २०८० मङ्सिर ३ गते निधन भएको थियो ।

भोली शनिवार आयोजित समारोह बिच उक्त पुरस्कार लेखक कृष्णविक्रम नेम्बाङको मरणोपरान्त पुरस्कार उनका परिवारलाई प्रदान गरिने छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र पुरस्कार कोषदाताले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नेछन् ।

सोही अवसरमा अध्ययन केन्द्रद्वारा ५० लाख रुपैयाँ कोषको रूपमा स्थापित ‘विष्णुदत्त सरस्वती आङबुहाङ प्राज्ञिक कोष’मा दाता आङहाङ परिवारबाट थप ५० लाख रुपैयाँ प्रदान गरी कुल १ करोड रुपैयाँको कोष राशि पुर्‍याइने छ ।

limbu itihas PR