इटहरी : शिक्षा समय बद्लिँदो परिस्थिति अनुसार अपडेट भइरहनुपर्छ । जसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष मूल्याङ्कन परीक्षा प्रणालीलाई स्तरीय बनाउनुपर्नेमा नियमनकारी निकायका अगुवा र सरोकारवाल प्रतिबद्धता जनाएका छन् । उनीहरूले परीक्षा स्तरीय बनाउनका लागि त्यसका सरोकारवाला पक्षले विवेकी भएर काम गर्नुपर्ने सुल्झाए ।
बिहीबार त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको आयोजना र जनता बहुमुखी क्याम्पस इटहरीको सह आयोजनामा भएको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीले परीक्षालाई उत्पादनमूलक बनाउन कमी कमजोरी सुधार गर्नुपर्ने बताए ।
‘त्रिभुवन विश्वविद्यालयले आर्थिक, सामाजिक, भौगोलिक अवस्थालाई मध्यनजर गरेर केन्द्र तोक्ने गरेको छ,’ कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर केदारप्रसाद रिजालले भने, ‘विभेद गरियो भने प्रश्न उठ्छ । त्यसैले के गर्दा प्रश्न उठ्दैन, त्यही ढङ्गले काम गर्ने योजना छ ।’ उनका अनुसार परीक्षा सञ्चालन गर्ने कार्य नैतिकतासँग जोडिएको कुरा भएकाले गर्दा परीक्षामा संलग्न व्यक्तिहरूले विवेकी भएर काम गर्नुपर्ने सुल्झाए ।
‘सुरक्षा चुनौतीलाई मध्यनजर गरेर अब प्रश्न पत्र पनि इमेलमै पठाउने गरी तयारी गरिनेछ,’ रिजालले भने,‘अहिलेको प्रविधिको युगमा उत्तर पुस्तिका परीक्षण गर्दा पनि अझ परिष्कृत वातावरण तयार गरिनेछ।’
उनले परीक्षामा संलग्न व्यक्ति र कामको तालमेल नमिलेकाले गर्दा यसलाई पनि क्रमशः सुधार गरिने बताए ।अब परीक्षामा संलग्न व्यक्तिलाई पारिश्रमिक दिँदा पनि सिधै खातामा जम्मा हुने गरी व्यवस्था मिलाउने रिजालले बताए । साथै परीक्षकलाई कापी बढ्ने सिस्टममा पनि सुधार गर्न आवश्यक रहेको गोष्ठीमा जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूका क्याम्पस प्रमुख तथा विश्वविद्यालयद्वारा सञ्चालित परीक्षाका केन्द्राध्यक्ष एवम् उत्तर पुस्तिका परीक्षणमा संलग्न कोशी प्रदेशका एक सय २५ जनाको सहभागिता रहेको एक दिने अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रणका डाक्टर गोविन्द्रप्रसाद गुरागाईँ विषय विज्ञ डाक्टर रमेश सापकोटा, डाक्टर टोलनाथ काफ्ले सँगै प्राध्यापक डाक्टर वेदराज आचार्य, केदार रिजाल, प्रसाद गुप्तालगायतले कार्य पत्र प्रस्तुत गरेका थिए ।
सो क्रममा जनता बहुमुखी क्याम्पस इटहरीका व्यवस्थापन समितिका अध्यक्ष विकास केसी, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख ढकबहादुर मगर, मेची बहुमुखी क्याम्पसका प्रमुख देवी आचार्य, वरुण बहुमुखी क्याम्पस खाँदवारी क्याम्पस प्रमुख चित्र रेखा कार्कीलगायतले उद्घाटन सत्रमा बोलेका थिए । कार्यक्रममा जनता बहुमुखी क्याम्पस इटहरी क्याम्पस प्रमुख गीता अधिकारीले सहभागीलाई स्वागत गरेकी थिइन् । ः