धरान : श्रमदान भनी गरिएका कामको हाजिरी उठाएर माग गरिएको रकम रोकेको निहुँमा प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघा बिच बढेको विवादले आज मङ्गलवार पनि धरान उपमहानगरपालिका परिसर तनावग्रस्त रह्यो ।
हिजो सोमवार उपप्रमुख बेघालाई हातपात गर्न खोज्ने प्रमुख साम्पाङको श्रमदाताको समूहले आज पनि बेघालाई घेराउ गर्न ११ बजे नगरपालिका पुगेका थिए । बेघाको कार्यकक्षमा पुगेका उनीहरूले विवाद गरिरहँदा उपप्रमुख बेघा पक्ष माओवादी कार्यकर्ताहरू आइपुगेपछि दुई समूह बिच झडपको स्थिति पैदा भएको थियो ।
सशस्त्र प्रहरी सहित इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले शान्ति सुरक्षा नगरेको भए दुई पक्ष बिच भिडन्त हुने अवस्था रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घट्नाको प्रत्यक्ष प्रसारण युट्युबहरूमा भएकोले नगरपालिका परिसरमा ठुलै भीड लागेको देखियो ।
नेकपा माओवादीका नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार आज बिहान प्रमुख साम्पाङको समूह डोजर, स्काभेटरको चाबी माग्ने निहुँमा उपप्रमुखको कार्यकक्ष घेराउ गर्न पुगेका थिए । उनले भने ‘उनीहरूलाई प्रमुख साम्पाङले हुलदङ्गा गर्न उपप्रमुख बेघाको कार्यकक्षमा पठाएका हुन, तर उपमेयरले उनिहरुलई सम्झाई बुझाई गरी चाबीको बारेमा यथार्थ अवगत गराउनु भयो ।’
उपप्रमुख बेघाका अनुसार नगरपालिकाको डोजर, स्काभेटरको चाबी नगर प्रमुख साम्पाङ, उपप्रमुख र कार्यालय स्टोरमा १÷१ वटा रहन्छ । प्रमुख तथा उनका कार्यकर्ताले जथाभाबी प्रयोग गर्न थालेपछि दुरुपयोग रोक्न केही दिन देखी आफूसँग भएको र कार्यालयको चाबी कसैलाई दिन रोक लगाएको उनले बताए ।
उपप्रमुख बेघाले भने ‘आज अचानक प्रमुखको श्रमदाता समूह धरान–१० नारायण पथमा स्काभेटर, डोजर प्रयोग गर्न चाबी माग्दै मेरो कार्यकक्षमा आए ।’ उनीहरूलाई चाबी ‘मेयर साब’सँग पनि भएको बताउँदै ‘म आफै मागी उहाँसँग मागी दिउँला’ भनी सम्झाई बुझाई शान्त बनाएको उनको भनाई छ ।
यसै बिच उपप्रमुख बेघालाई घेराउ गरेको सुने नेकपा माओवादीका कार्यकर्ताहरू नगरपालिका परिसरमा जम्मा भएपछि झडपको स्थिति सिर्जना भएको हो । परिसरमा दुवै पक्षले नाराबाजी गरेका थिए । कपुरी डटकमले बिहानी देखी फेसबुक पेजमा घट्नाको लाइभ प्रसारण गरेको छ ।
mayor-upamayar-bibad
mayar