धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ आफैले गरेको निर्णय विरुद्ध उत्रिएर धरान-१६ मा अस्थायी प्रहरी चौकी भवन निर्माण कार्य रोकेको वडा अध्यक्ष मुरारी भट्टराईले बताएका छन् । 
उनले भने ‘कार्यपालिका बैठकको निर्णय अनुसार निर्माणाधीन अवस्थामा रहेको प्रहरी चौकी भवन निर्माण कार्य नगर प्रमुख साम्पाङले रोक्न आदेश दिएका छन् ।’
धरान-१६ नौलो बस्तीमा अपाराधिक घटनाहरू उच्च रहेकाले रोकथाम गर्न गत २०८० जेठ १८ गते नगरप्रमुख साम्पाङको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अस्थाई प्रहरी चौकी बनाउने निर्णय गरेको थियो ।
अपराध नियन्त्रण गर्न उक्त क्षेत्रमा अस्थाई प्रहरी चौकी निर्माण गर्न लागेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई २०८० जेठ २८ गते पत्राचार समेत गरेका थिए ।
कार्यपालिकाको निर्णय र पत्राचारको आधारमा वडा १६ कार्यालयले २०८१ मा ९ लाख बजेट निकासी गर्दे हाउस पेटी सम्म निर्माण भैसकेको वडा अध्यक्ष भट्टराईले बताए । भवनलाई पूर्णता दिन हाल कोशी प्रदेश सरकारले ८ लाख बजेट निकासा गरिदिएको रकमबाट शनिवार देखि निर्माण कार्य सुरु गरिएको थियो ।
निर्माण कार्य चलिरहेको बेला आज आईतबार नगर प्रमुख साम्पाङले नगर प्रहरी पठाएर  निर्माण कार्य रोक्न लगाएको हो । वडाध्यक्ष भट्टराईले भने भट्टराईले भने ‘नगर प्रमुखले चौकी भवन बनायो भने त्यहाँ प्रहरीले कट्टु सुकाउँछन् त्यहाँ बनाउनु हुँदैन, त्यो काम तुरुन्त रोक्नु पर्‍यो भन्दै फोन गर्नु भएको थियो ।’
उनले भने ‘मैले त्यो काम रोकिँदैन चौकी बनाएरै छोड्छु भनेपछि, नगरको बजेट नभए पनि स्थानीय बासीबाट रकम उठाएर भए पनि चौकी बन्छ मेयर साप भन्दै फोन राखेँ ।’ तर नगर प्रहरी निर्माण स्थलमा पुगेर मेयरको आदेश भन्दै काम रोक्न लगाएका थिए ।
काम रोकिएको खबर पाए लगत्तै निर्माण स्थल पुगी अहिले हाल आफै उभिएर धमाधम काम गराउँदै गरेको वडाध्यक्ष भट्टराईले बताए । उनले भने ‘काम हुन्छ, रोकिँदैन ।’
बहुभाषिक पाठशाला र आधारभूत स्वास्थ्य चौकी भन्दा अस्थाई प्रहरी चौकी वडाका बासिन्दाको माग भएको वडाध्यक्षको भनाई छ । उनले भने ‘जनताको माग बमोजिम आफू जस्तो सुकै सङ्घर्ष गर्न तयार छु, तर चौकी बनाएरै छोड्छु ।’
स्थानीय सपना विकले भनिन् ‘गोल घर भन्दा पुलिस चौकी हामीलाई आवश्यक छ ।’ बहुभाषिक पाठशाला, स्वास्थ्य चौकी, प्रहरी चौकी मध्ये अहिले तत्काल शान्ति सुरक्षाका लागि प्रहरी चौकी नै पहिलो जरुरी भएको उनले बताइन् ।
स्थानीय कमला राई भन्छिन् ‘पुलिस चौकी आउनु नै हाम्रो लागि भगवान् आऊ बराबर हो ।’ कहाँ कहाँको ‘भित्तिहरू’ आएर छोरी मान्छे घरबाट निस्कन समेत नहुने स्थिति बनेको उनले बताइन् । छोरा छोरी बचाउन गाह्रो भैसकेको उनको भनाई छ ।  
राईले भनिन् ‘ज्यान बचाउन प्रहरी चौकी आवश्यक छ, मेयरले नदिए पनि वडाध्यक्षको साथ पाए हामी आफै रकम उठाएर भए पनि चौकी बनाउन तयार छौ ।’
karyapalika-nirnaya