धरान: मानिसलाई अप्ठ्यारो परेको बेला ऋण सापटीको नाममा पैसा दिएर चक्र वृद्धि व्याज असुल गर्न घरबार सम्म कब्जा गर्नेहरूलाई खोजी खोजी कानुनको दायरामा ल्याउन पीडित महिलाहरूको भेलाले बुधवार सङ्घर्ष समिति गठन गरेका छन् ।
कानुनले तोकेको निश्चित व्याज भन्दा बढी असुली गरेमा वित्तीय अपराध मानिन्छ । पछिल्लो समय ऋण सापटी लिन बाध्यताको फायदा उठाएर मिटर व्याज असुल्ने प्रवृत्ति नेपाली समाजमा बढेको छ । त्यस्ता सुदखोर मिटरव्याजीहरु विरुद्ध सङ्घर्ष गर्न समिति गठन गरिएको हो ।  
धरानमा त्यसरी वित्तीय शोषणमा परेका सर्वसाधारणको उद्धारका लागि गीतादेवी निरौलाको संयोजकत्वमा ८ सदस्यीय ‘वित्तीय शोषण उत्पीडित किसान मजदुर सङ्घर्ष सङ्घर्ष समिति’ गठन भएको हो । 
सङ्घर्ष समितिमा पदम कुमारी लिम्बु, सुरेखा लिम्बु, सरिता लिम्बु, पुथिमाया लिम्बु, लक्ष्मी लिम्बु, विना देवान, तारा रणपहेली, गीता लिम्बु सदस्य रहेका छन् । आमन्त्रित सदस्यहरूमा साहारा गुरुङ, गणेश प्रसाद तिम्सिना, सरोज राई, सडक राई छन् ।
सङ्घर्ष समितिले पहिलो बैठकबाट धरानमा रहेका मिटरव्याजीहरु विरुद्ध सङ्घर्ष गर्ने योजना अगाडी सारेको छ । समितिले अन्यायमा परेका तमाम मिटर व्याजी र ठगीका घटनालाई जनता माझ पुर्याउदै पिडा र सङ्घर्षका कार्यक्रम उजागर गर्ने पहल गर्ने संयोजक निरौलाले बत्ताइन् ।