धरान: सामुदायिक विद्यालय पब्लिक हाई स्कुल धरान–१२ मा शनिवार भएको कक्षा ११ को प्रवेश परीक्षामा ५९४ जना समावेश भएका छन् ।
यो सङ्ख्या धरानका संस्थागत विद्यालयहरू भन्दा धेरै भएको स्कुलले दाबी गरेको छ ।
यसपालिको एसइईमा उत्कृष्ट नतिजा ल्याउने ३ सामुदायिक विद्यालय मध्ये धरान–१२ स्थित पब्लिक हाई स्कुलबाट २७२ परीक्षार्थी मध्ये २३१ जना उत्तीर्ण भएका थिए ।
साधारण तर्फ २३५ मध्ये १९८ र प्राविधिक तर्फ ३७ मध्ये ३३ जना उत्तीर्ण भएका छन् ।
प्रधानाध्यापक डा.इन्द्र मोहन झाँले भने ‘हामीले निजी स्कुलहरू जस्तो विज्ञापन गरेका छैनौँ तैपनि भर्ना हुन चाहने जति सबै विद्यार्थीलाई पढाउन भने सकेको छैनौंं ।’
सीमित भौतिक संरचना र कर्मचारीको अभावमा चाहना भएर पनि आउने जति सबै विद्यार्थी पढाउन नसकिएको उनले बताए ।
सिकाइ उपलब्धि र नतिजा पनि राम्रो भएका कारण स्कुलमा विद्यार्थी आकर्षण बढेको उनको भनाई छ । स्कुलले पढाईको माध्यम अङ्ग्रेजी बनाएपछि निजी स्कुल सरह आकर्षण बढेकोले प्रचार बिना नै कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप बढेको स्कुलले जनाएको छ ।
प्रवेश परीक्षामा सहभागी विद्यार्थी छिमेकी सागुरीगढी, धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुर र कोहलपुर देखि समेत आएको विद्यालयले जनाएको छ ।
स्कुलमा कक्षा नर्सरी देखि १२ सम्म ३ हजार ४ सय ९१ विद्यार्थी छन् ।
नर्सरी देखि कक्षा १० सम्म १८ सय ५०, कक्षा ११ देखि १२ सम्म १५ सय ९९ जना विद्यार्थी छन् । १ देखि १२ कक्षाका ९० वटा कक्षा कोठा सेक्सन छन् । प्रधानाध्यापक झाले भने ‘विद्यालयमा ३ सिफ्टमा पढाई हुँदै आएको छ, विद्यार्थीको अत्यधिक चाप बढेकोले २०७८ साल देखि प्रवेश परीक्षा गरेका हौँ ।’
स्कुलमा सरकारी शिक्षक दरबन्दी ४० जना मात्र रहे पनि १८४ जना शिक्षक कर्मचारीको व्यवस्थापन गरिएको छ ।
प्रधानाध्यापक झाँल भने ‘अभिभावककै सहयोगमा ६ वटा बस सञ्चालन गरिएको छ ।’
स्कुलमा निजी विद्यालयको तुलनामा न्यून शुल्क निर्धारण गरिएको उनले बताए ।
अन्य महँगा निजी स्कुलको तुलनामा शैक्षिक गुणस्तर, सुविधा सम्पन्न प्रयोगशाला र व्यवस्थित कक्षा कोठा रहेकाले अभिभावकहरूको आकर्षण बढेको प्रधानाध्यापक झाको भनाई छ ।