धरान : नेपाली कथानक चलचित्र “जनै हराएको बाहुन” नाम राखेर निर्माण थालिएको चलचित्रको नाम परिवर्तन भएर “जनै हराएको मान्छे” सम्बन्धका धागोहरूको पहिलो चरणको फरक फरक तीन ओटा भिन्न भिन्न पोस्टरहरू देशका विभिन्न शहरहरुबाट एकसाथ सार्वजनिक भएको छ ।
आईतबार धरानको फ्रेण्ड सिनेमा हलमा कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक समाजका महासचिव तथा चलचित्रकर्मी महासङ्घ कोशीका अध्यक्ष निर्देशक अरुण कुमार प्रधानले पोष्टर सार्वजनिक गरे ।
पोष्टर सार्वजनिक पछि प्रधानले नेपाली चलचित्र क्षेत्रमा प्रचार–प्रसार शैलीको नयाँ तरिका आएको भन्दै चलचित्र सफलताको शुभकामना दिए ।साथै पछिल्लो समय कोशी प्रदेशमा नेपाली चलचित्रको गतिविधि बढिरहेकोमा खुशी व्यक्त गरे ।
चलचित्र “जनै हराएको मान्छे” को पोस्टर काठमाडौँ, पोखरा, धरान, ईटहरी, बिर्तामोड, विराटनगर लगायत शहरहरुबाट एकसाथ सार्वजनिक भएको हो । सार्वजनिक तीन फरक पोस्टरहरूमा पात्रहरूको भूमिका गम्भीर र रहस्यमय देखिएको छ ।
एक पोष्टरमा दुई नायिकाहरू केकी अधिकारी र मिरुना मगरले धागो समातेका छन् सोही धागोलाई विजय बरालले तानेका छन् भने एक अर्को पोष्टरमा विजयले रिक्सामा मिरुनालाई चढाएर कुदाईरहेका छन् ।
पोष्टरले चलचित्रको धेरै कुराहरू प्रस्ट पार्न खोजेको छ । पोष्टर धरानको फ्रेन्ड्स सिनेमा, इटहरीको ईलाइट, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स र बिर्तामोडको क्यूएफएक्स, काठमाण्डौमा आईप्लेक्स मलको वान सिनेमाज, दाङ, नेपालगन्ज, पोखरा, बुटवल लगायतका ठाउँहरूबाट एकसाथ सार्वजनिक गरिएको हो ।
चलचित्र निर्माण घोषणा गर्दा जनै हराएको बाहुन नाम राखिए पनि हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखेर जनै हराएको मान्छे राखिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर,गौरव पहारी,कविता आले,सुशांक मैनाली लगायत कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
चलचित्र यही भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ।