धरान: नगर प्रमुख हर्क साम्पाङले श्रमदानका नाममा गैरकानुनीरुपमा उपमहानगरपालिकाको बजेट प्रयोग गर्दे किर्ते फायल खडा गरेकोमा कुनै हालतमा सहमति नहुने र त्यो फायलमा हस्ताक्षर नगर्ने उपप्रमुख अइन्द्रविक्रम बेघले बताएका छन् ।
आज बिहान कपुरीसँग उपप्रमुख बेघाले भने ‘धरान–१६ बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणमा संलग्न श्रमदाताहरूको नाममा नगर प्रमुख साम्पाङले आफैले फायल खडा गर्दै आएको गह्रकानुनी कार्यमा मेरो सहमति छैन म हस्ताक्षर गर्दिन ।’
उनले सर्वदलीय टोली सहित वडाअध्यक्षहरु सहित कार्यपालिका सदस्यहरूले स्थलगत अनुगमन गर्दै सहमति गर्न लागेको बताउँदै भने ‘तर म गर्दिन, अनुगमनमा पनि जाँदिन ।’
नगर प्रमुखले वैशाख १६ र १७ गते सम्पन्न भएको भनिएको आयोजनामा आफ्नो सहमति नभएको बताउँदै उपप्रमुख बेघाले भने ‘योजना वैशाख २५ गते निवेदन दर्ता गराई २६ गते आयोजना सुरु गरेको भन्ने कागजी प्रक्रिया बनाएका थिए ।’
पहिला भैसकेको कामको ईस्टमेट हाल मात्र गरेको, १५ दिन अगाडी कार्य सम्पन्न भएपछि सम्झौता गरेको पाइएको छ बेघाले बताए ।
उनका अनुसार श्रमदान लगातार १ गते देखि १३ गते सम्म भएको भनी डोर हाजिर गरिएको छ ।
हुँदै नभएको कामको दिनको पनि डोर हाजिर गरेको छ । डोर हाजिरमा एकै जनाले एउटै किसिमको हस्ताक्षर गरेको छ ।
उनले त्यस्तो कार्यमा आफ्नो सहमति नभएको दोहोर्याउँदै भने ‘तर म सहमति गर्दिन, गह्रैकानुनी काममा मेरो सहमति हुँदैन ।
नगरप्रमुखले जबरजस्ती खडा गरेको फायलमा मेरो सहमति हुँदैन । मेरो फरक असहमति छ भन्दै प्रमुख प्रशासकीय अधिकृत सहित नगर प्रमुखलाई पत्राचार गर्दैछु ।’
उनले कार्यकक्ष सञ्चारकर्मीहरू सँग भने‘मलाई कर्मचारीले दिएको फाईलमा डोर हाजिरमा कैफियतमा केही उलेख्य छैन । तर हाल आएर नगर प्रमुखले फाईलमा कोरमेट गरेका हुन ।’
उपप्रमुख बेघाले फायल देखाउँदै भने ‘नगर प्रमुखले कैफियत पछि थप्दै प्रक्रिया र विधि विपरीत नयाँ फायल खडा गरी गैर कानुनी रूपमा किर्ते काम गरेका हुन ।’
उनले भने ‘नगर प्रमुखले कानुनी रूपमा भ्रष्ट्राचार गरेकै हुन, कैफियतमा के लेखे त्यो कानुनले चिन्दैन र कानुनले मान्दैन ।’ उक्त फायल आफूले अनुगमन गर्दिन र हेर्दिन भनेर फालेको फायल भएको बताए ।
उनले भने ‘मेरो टेबुलमा आएको फायल नै मेरा लागि आधिकारिक हुन्छ, लिखितरुपमा आएको फायल नै कानुनी हुन्छ, डोर हाजिर मा पैसा लिए भनेर हस्ताक्षर गरेपछि लिएको हुन्छ ।’
पैसा लिएको मान्छेले लिईन भन्छ भने र लिएको मान्छेले लिएको छुइन रेकर्डका लागि मात्र हाजिर गरे भन्छ भने पनि कानुनी रूपमा सजाय हुने उनले बताए । उनले भने ‘कानुनी रूपमा त्यो भ्रष्ट्राचार जान्छ, कानुनले कागज मात्र हेर्छ, अरू मौखिक समझदारी हेर्दैन ।’
उनका अनुसार नगर प्रमुखले आफै फायल खडा गर्ने, वडा अध्यक्षको काम कारबाहीमा हस्तक्षेप गर्ने, डोर हाजिरमा सरकारी कर्मचारी प्रयोग गरेको पाइएको छ । नगर प्रमुखले विधि प्रक्रिया र कानुनको बर्खिलाप गरेका छन् यो निन्दनीय छ ।
आफूबाट कुनै पनि काम ऐन,कानुन, विधि विधान विपरीत हुन नसक्ने बताए । फाईलमा कुन साल महिना र गतेमा काम भएको भनी उल्लेख गरिएको छैन । श्रमदान भन्दै नगरपालिकाबाट श्रमदातालाई तलब भुक्तानी गरेको पाइएको छ ।
बेघाका अनुसार प्रमुखले उपभोक्ता समिति आफै खडा गरी नगरपालिकाको जेसीवि, दमकल प्रयोग गरेको पाइएको बताए । उनले भने ‘नगर प्रमुखले आफनै खुसीले अझै ५ देखी ६ वटा योजना सुरु गर्नु भएको छ ।’