इटहरी : नेपाल युवा उद्यमी  मञ्च (एनवाईइएफ) को केन्द्रीय अध्यक्षमा इटहरीका सुदीप घिमिरे चयन भएका छन् । इटहरीका प्रतिष्ठित उद्योगी घिमिरे मञ्चको २१ औँ साधारण सभाबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । 

युवा उद्यमी मञ्च सुनसरीको संस्थापक अध्यक्ष घिमिरे एसजि ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन् । ऊर्जा, वित्त क्षेत्र, व्यापार, उद्योग लगायत क्षेत्रमा अब्बल रहेको एसजी ग्रुपले नेपाल तथा विदेशमा समेत व्यावसायिक गतिविधि विस्तार गरेको छ ।  

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न साधार सभामा प्रतिष्ठित औद्योगिक घराना र नवप्रवर्तनमा काम गर्ने उद्योगीहरूको सहभागिता थियो । युवा उद्यमीहरुको साझा संस्था युवा उद्यमी मञ्च पछिल्लो समय नवप्रवर्तन मार्फत युवाहरूलाई व्यावसायि बनाउने ध्यानमा केन्द्रित छ । 

अध्यक्ष घिमिरेले नवप्रवर्तन, समावेशिता र प्रभावमा केन्द्रित भएर काम गर्ने बताएका छन् । संस्थाको उद्देश्यलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बताउँदै उनले विद्यालय र कलेज लेवल देखि नै युवाहरूलाई उद्यमी बन्न प्रेरित गरिने प्रतिबद्धता जनाए । 

घिमिरे सहित उपाध्यक्षमा आभूषण ज्योति कंसकार, निविता प्रधान र महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ चयन भए । कार्यसमिति सदस्यहरूमा कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ, सुविन श्रेष्ठ र अभिमन्यु गोल्छा सर्वसम्मत भएका हुन् ।