धरान : छाता चौक स्थित पुरानो धरान अस्पताललाई नै नगरअस्पताल बनाउने मागलाई दबाब मूलक बनाउँदै आज मङ्गलवार धरान-१का वडाध्यक्ष यज्ञमणि आचार्य सहित जनप्रतिनिधिहरू,टोल विकास र बालक्लब सहित सामाजिक संस्थाका स्वयंसेवीहरूले अस्पताल भवन सरसफाइ गरेका छन् ।
उपमहानगरपालिकाको स्वास्थ्य चौकीका साथै प्रसूति सेवा सञ्चालन भइरहेको अस्पताल परिसर धरान अस्पतालको थियो ।
पछिल्लो समय बिपी प्रतिष्ठानमा गएको स्वामित्व अस्पतालको नाममा फर्काउने गरी नगर अस्पताल सञ्चालन गर्न दबाब मुलुक कार्यक्रम गरिएको हो । 
वडाध्यक्ष आचार्यले नगर अस्पताल बनाउन अहिले वडा वडामा पहल समिति गठन भइरहेको बताए । उपमहानगरपालिकाले २०८१ फागुन २७ गते कार्यपालिका बैठकबाट निर्णय गरी नगर अस्पताल बनाउने निर्णय गरिसकेकोले अब नगरसभाबाट अनुमोदन गरेर बजेट विनियोजन गर्न पहल गरिने जानकारी दिए ।
उनले भने ‘पुरानो हस्पीटलकोे १ बिघा १५ कट्टा जग्गा बिपीको स्वामित्वमा गएको छ, त्यो जग्गा बिपीको नामबाट नगर अस्पतालमा ल्याउन पहल पनि गर्छौ ।’
उनका अनुसार पुरानो भवन जीर्ण र झारपात पलाएर धेरै फोहोर भएकोले दबाब स्वरूप पहिलो चरणमा सरसफाइ गरिएको हो । 
नेकपा माओवादी केन्द्रका नेता फोक्वाहाङ सुब्बा चोत्लुङले स्वास्थ्य बिमाको प्रथम सेवालाई धरानमा निरन्तरता दिलाउन नगर अस्पताल बनाउन अति आवश्यक भएकोले दबाब कार्यक्रम स्वरूप सरसफाइ अभियान गरिएको बताए ।
nagar-hospital-chotlungउनले जीर्ण भए पनि यही भवन प्रयोग गर्दे ३महिना भित्र नगर अस्पताल सञ्चालन गर्न नगरप्रमुख हर्क साम्पाङ, उपप्रमुख अईन्द्र विक्रम बेघा लगायत कार्यपालिका सदस्यहरूलाई आग्रह गरे ।
तुरुन्त कार्यपालिका बैठकले अस्पताल सञ्चालन गर्ने निर्णय गरी नगर सभाबाट तत्काल १ करोड बजेट पास गर्न जरुरी भएको बताए ।
बिपीको स्वामित्वमा गएको जग्गाको स्वामित्व नगरमा ल्याउने पहलमा कानुनी वाधा आए  नगर प्रमुख सँगै राजनैतिक दल अगाडी बढ्ने प्रतिबद्धता जनाए । बिपीले अस्पतालको जग्गा सिनेट बैठक बसेर तुरुन्त नगरलाई स्वामित्व हस्तान्तरण गर्नु पर्दछ भन्न उनको भनाई छ ।
वडा१ नगर अस्पताल पहल समितिका सदस्यसचिव अनिल काफलेले पहल समितिले वडा/वडामा पहल समिति गठन गर्ने बताउँदै वडाहरूमा समिति गठन भएपछि नगरस्तरीय पहल समिति निर्माण गरी अस्पतालको जग्गाको स्वामित्व फिर्ता ल्याउने बताए ।