धरान : कोशी प्रदेशका सीमावर्ती क्षेत्रमा हुने भन्सार छली लगायत जिल्लाहरूमा चोरी तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा २० करोड ४२ लाख रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा प्रहरीको विशेष सक्रियताले उक्त परिमाणको भन्सार छलीको राजश्व असुली गरिएको हो ।
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामद गरी ७ करोड ३ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
मोरङ जिल्ला प्रहरीले ५ करोड ५६ लाख भन्दा बढी, सुनसरीले ४ करोड २३ लाख भन्दा बढी, ताप्लेजुङले १ करोड ४ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
यसैगरी उदयपुरले ९६ लाख भन्दा बढी, इलामले ७० लाख भन्दा बढीको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरू बरामद गरी राजश्व सङ्कलन गरेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेशका अन्य जिल्लाहरूबाट पनि भन्सार छलेर हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न प्रहरी परिचालन गरी कडाइ गरिएकाले २० करोड ४२ लाख भन्दा बढी राजश्व सङ्कलन भएको हो । साथै प्रहरीले ओसार पसारमा प्रयोग गरिएका ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश प्रहरी अनुसार विशेष गरी खुल्ला सिमाना भएका कारण हुने चोरी तस्करीका घटनाहरू नियन्त्रण गर्न सीमा क्षेत्र तथा आसपासका नाकाहरूमा चेकजाँचमा कडाइ, सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।