धरान : भोजपुर सरोकार समाज धरानले नेपाली सङ्गीत क्षेत्रका चर्चित भोजपुरे गायक भीषण मुकारुङलाई एकल साङ्गीतिक साँझमा प्रस्तुत गर्ने भएको छ । 
समाजको भवन निर्माणार्थ आर्थिक सहयोग जुटाउन भोजपुरमै जन्मिएका गायकको कन्सर्ट गर्न लागिएको मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी समाजले जनाएको छ । साङ्गीतिक साँझ भदौ २८ गते धरान–१५ चुम्लुङ हिममा हुनेछ ।
भीषण मुकारुङ एकल साँझबाट सङ्कलित रकम समाजको भवन बनाउन खर्च गरिने समाजका अध्यक्ष रेवतिरमण राईले बताए । संस्थाको आधिकारी टिकट खरिद गरेर सहयोग गर्न दर्शक /श्रोतहरूमा आग्रह गरे । 
भवन निर्माणको लागि सुनसरीमा रहेका र देश विदेशमा रहेका भोजपुरे लगायत दाताहरूसँग पनि आर्थिक सहयोगको आग्रह गर्दै अध्यक्ष राईले निर्माणाधीन भवन बहुउद्देश्यीय रहेको बताए ।
समाजले भोजपुर र सुनसरीका पालिकाहरूसँग समन्वय गरी सामाजिक कार्यहरू गर्ने, भोजपुरका ऐतिहासिक पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार प्रवर्द्धनमा सहयोग गर्ने, भोजपुर र भोजपुरबाट सुनसरी आएका कलाकारहरूको कला, संस्कृति, साहित्यको प्रबद्र्धनमा सहयोग गर्ने बताए । 
समाजको भवन हाल धरान–१५ गणतन्त्र बस्तीमा सानो कटेरोको रूपमा रहेको छ । समाजको योजना सुविधा सम्पन्न भवन निर्माण गर्ने रहेको छ । पत्रकार सम्मेलनमा भवनका लागि जग्गा खोजी गर्ने क्रममा आजीवन सदस्य धरान–१८ की माया राईबाट बिष्णुपादका कार्की छापमा १ कट्ठा जग्गा प्राप्त भएको जानकारी दिइएको छ ।
bojpur-samaj