विराटनगर : विराटनगर–९ पुरानो गुद्री स्थित मासु पसलबाट आज बिहीबार महानगरेको अनुगमन टोलीले खसीको मासु भनी बाख्राको मासु बेचेको अवस्थामा जफत गरेको छ ।

कृषि तथा पशुपंक्षी शाखा संयोजक हीरालाल यादवका अनुसार अनुसार अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद पसलबाट ५-५ किलो खसीको चिन्ह नभएको बाख्रीको मासु जफत गरी नष्ट गरिएको छ ।

मापदण्ड विपरीत माछा मासु पसल सञ्चालन गरेको जनगुनासो आएपछि महानगरपालिकाले संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरमा सञ्चालित माछा मासु पसलको अनुगमन गरिएको हो । खसीको भनी बाख्राको मासु बेचेको पाइएकोले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिइएको छ ।

अनुगमनको क्रममा विराटनगर-९ मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस, विराटनगर-११ करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

उनीहरूको पसलमा मापदण्ड पालनाको कमी कमजोरी देखिएकाले अन्तिम पटकका लागि सचेत गराइएको यादवले जानकारी दिए । अनुगमनमा नगर प्रहरीका प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपंक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेका थिए ।