इटहरी : नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ स्थापना दिवसको मङ्गलवार भएको समारोहमा पाँच दशक बढी कानुनी सेवा गर्दै आएका कानुन व्यवसायीहरूलाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेहरूमा वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने, उमेश चन्द्र न्यौपाने, अधिवक्ता देवी घिमिरे, वरिष्ठ अधिवक्ता माधव भट्टराई, रमेश कोइराला, भरतबहादुर थापा, प्रकाश बाबु पन्त र उद्धव चन्द्र घिमिरे छन् ।
उनीहरूलाई प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश बालकृष्ण ढकालले सम्मानित गरेका हुन । न्यायाधीश ढकालले कानून व्यवसायी परिषद्ले गर्दै आएको कानून व्यवसायीको परीक्षा लिई रेकर्ड राख्ने, क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, आचारसंहिता कार्यान्वयनमा जोड दिने जस्ता कार्य अझै प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।
उनले भने ‘कानुन व्यवसायी पेसालाई नैतिकवान् र मर्यादित बनाउन र अध्ययन अनुसन्धान गर्ने समिति समेत बनाउनुपर्छ ।’ बार काउन्सिलले विभिन्न देशको कानुनी ज्ञान लिन कानून व्यवसायीलाई वैदेशिक भ्रमणको अवसर प्रदान गर्न ती देशसँग सहकार्य गर्न न्यायाधीश ढकालले सुझाव दिए ।
उक्त अवसरमा वरिष्ठ अधिवक्ता सिताराम राई, मोरङ बार अध्यक्ष हरिशंकर मण्डल, उच्च अदालत बार विराटनगरका अध्यक्ष विश्व राम भट्टराई, इनरुवा मेयर केदार भण्डारी, झापा बारका अध्यक्ष वसन्त नेपाल लगायतले कानुन व्यवसायको अवसर र चुनौतीका बारेमा धारणा व्यक्त गरेका थिए ।
उच्च अदालतका मुख्य न्यायाधीश राजन प्रसाद भट्टराई, मोरङ र सुनसरीका जिल्ला न्यायाधीश, प्रदेश मुख्य न्यायाधीवक्ता, कोशी प्रदेशका १४ जिल्ला बार अध्यक्ष, वरिष्ठ अधिवक्ता र अधिवक्ताको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशका पार्षद् राजु ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अधिवक्ता रमेश पोखरेलले गरेका थिए ।