विराटनगर : विराटनगरस्थित ऐतिहासिक शैक्षिक संस्था विराट क्याम्पसले आफ्नो ३४ औँ वार्षिकोत्सव आज एक विशेष समारोहका साथ सम्पन्न गरेको छ।कार्यक्रममा शिक्षाविद्, पूर्व विद्यार्थी, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम त्रिभुवन विश्व विद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह-परीक्षा नियन्त्रक श्री गोविन्द गुरागाईँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। 

प्रमुख अतिथि गुँरागाइले आफ्नो सम्बोधनमा क्याम्पसले विगत तीन दशकदेखि क्षेत्रको उच्च शिक्षाको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ गुणस्तरीय र रोजगारीमुखी शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए। 

साथै त्रिभुवन विश्व विद्यालय पनि सूचना तथा प्रविधिको क्षेत्रमा अगाडी बढिरहेको हुनाले परीक्षा तथा नतिजा प्रकाशनमा ढिला सुस्ती नहुने गरी काम गर्न लागिपरिरहेको समेत जानकारी दिए।

कार्यक्रमका क्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो। क्याम्पसको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि र आगामी योजनाबारे प्रस्तुतीकरण गरिएको थियो।

क्याम्पसका अध्यक्ष आर.सी. कोइरालाले ३४ वर्षको शैक्षिक यात्रामा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा अनुसन्धान गतिविधिमा जोड दिने योजना सार्वजनिक गरेका थिए।

कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने सार्वजनिक मावि जहदा ४ का पूर्व प्र.अ. अजय कुमार सिंह र राम सिता मावि बर्जूका पूर्व प्रअ सुभकलाल रायलाई सम्मान गरिएको थियो ।

यसैगरी क्याम्पसमा अध्ययन पुरा गरी विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट पठन पाठन सँगै सामाजिक व्यक्तित्वलाई सम्मान गर्दा हाल अध्ययनरत विद्यार्थीहरूलाई समेत संस्थाप्रतिको थप जिम्मेवारी वोध हुने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत थोरै भए पनि सहयोग हुने प्राचार्य रोशन घिमिरेले बताए ।