इटहरी : इटहरी उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संवैधानिक व्यवस्था भन्दा एक महिना ढिलागरि पास हुने भएको छ ।
नगरसभा अध्यक्ष तथा नगरप्रमुख हेमकर्ण पौडेलले अनुसूची उपलब्ध नगराएपछि गत असार ३१ गते स्थगित भएको नगर सभा साउन ३० र ३१ गते सञ्चालन भएको हो ।
संवैधानिक मान्यता अनुसार असार मसान्तसम्म बजेट नीति तथा कार्यक्रम पास गरिसक्नुपर्ने भएपनि अनुसूची लगायत विभिन्न विवादका कारण बजेट पास हुन सकेको थिएन ।
१६औँ नगरसभा बैठककै निरन्तरता स्वरूप दुई दिन सम्म सभा सञ्चालन भएको हो । ३० गते शुक्रवार रातीसम्म चलेको सभाले सम्पूर्ण अनुसूची र संशोधित ऐनमा छलफल गर्न नसकेपछि शनिवार दिउँसो २ बजेदेखि बैठक सुरु भएको छ ।
यसअघि अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेट उपलब्ध नगराई गोलमोटोल तरिकाले पास गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । वडाबाट छनौट भएर आएका योजना समेटिएको अनुसूची सहित बजेट पेस गर्न उपमेयर सङ्गीता चौधरी सहित बहुमत नगर सभा सदस्यले माग गरेपछि नगर सभा स्थगित भएको हो ।
यसबिचमा बिचमा कक्षा १२ सम्म पढाई हुने विद्यालयको लागि बस खरिद गर्ने र अन्य आधारभूत विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने सहमति भएको बताइएको छ ।
उपमेयर चौधरीले गत असार १० गते २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । चालुतर्फ १ अर्ब ४ करोड ११ लाख, वित्तीय व्यवस्थातर्फ ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख विनियोजन गरिएको छ ।
गत आर्थिक वर्षमा ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको महत्त्वाकाङ्क्षी बजेट ल्याएको उपमहानगरपालिकाले नगर स्तरीय योजना सञ्चालन गर्न सकेन । दायित्व भुक्तानीले थलिएको उपमहानगर चालु आर्थिक वर्षको बजेट मार्फत लयमा फर्किने अपेक्षा गरिएको छ ।