इटहरी : पूर्वका धेरै सहरको तुलनामा इटहरीको बजार चलायमान देखिन्छ । इटहरीको मुख्यतः सङ्गीत चोक क्याफे रेस्टुरेन्ट र अन्य व्यापारिक प्रयोजनमा बढी गतिशील बन्दै गएको छ ।
म्युजिकल कार्यक्रम देखि व्यापारिक गतिविधिको लागि सङ्गीत चोक मुख्य आकर्षणको रूपमा देखिएको छ । मुख्य राजमार्गमा पार्किङको अभाव झेलिरहेको इटहरीको बजार भित्र सर्दै गइरहेको छ । जसको फाइदा सङ्गीत चोक, आइतबारे, बिपी चोक र धरान लाइनले लिएका छन् ।
धरान लाइनमा हलगडा र त्यसपछि एकै पटक तरहरा सेकुवाको कारण फेमस मानिन्छ । तर पछिल्लो समय इटहरीको मुख्य चोक देखि तरहराको जङ्गल सम्म नै व्यावसायिक रूपमा चलायमान छ । हलगडा र तरहराको बिचमा खुलेको होटेल गरिमा (सोल्टी वेस्टेण्ड)ले इटहरीको गरिमा बढाएको छ । इटहरीमा खुलेको पहिलो तारे होटेलको रूपमा रहेको गरिमाले हस्पीटालीटी क्षेत्रमा नयाँ आयाम सुरुवात गराएको छ ।
गरिमाको व्यावसायिक सुरुवात सँगै अन्य होटेल तथा रेस्टुरेन्ट खुल्न थाल्यो । गरिमा निर्माणाधीन अवस्थामा रहँदै खुलेको मझेरी रेस्टुरेन्टले इटहरीमा रेस्टुरेन्टमा नयाँ क्रान्ति नै ग¥यो । अन्य धेरै रेस्टुरेन्ट बन्द भइसकेको अवस्थामा मझेरीले इटहरीलाई नयाँ स्वाद दिइरहेको छ । यही बिचमा धरान लाइन क्याफे र रेस्टुरेन्टको हब नै भएको छ ।
बहत्तर क्याफे, स्टेसन पब, पल्पमा, ससुराली देखि रिफ्रेस सम्म नयाँ क्याफे तथा रेस्टुरेन्ट खुलेका छन् । त्यस बाहेक पनि हस्पीटालीटी क्षेत्रमा धरान लाइनले चमत्कार गरिरहेको छ । भर्खरै खुलेको होटेल स्काइ लक्स इटहरी प्रमुख आकर्षक होटेलको रूपमा चिनिएको छ । पार्किङको सुविधा भएकाले पनि स्काइ लक्सलाई धेरै आगन्तुकले रुचाएका छन् । स्काइ लक्ससँगै अर्को होटेल पनि खुल्ने तयारीमा छ ।
बहत्तर क्याफेका सञ्चालक बहत्तर लिम्बु भविष्यको लागि हेरेरै क्याफे सुरुवात गरेको बताउँछन् । अन्यत्र भन्दा धरान लाइन खुल्ला रहेको कारण व्यवसायी आकर्षित बनेको उनले बताए । अहिलेको रफ्तारमा क्याफे खोल्ने क्रम केही समय नरोकिए पछि ठुलो चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ छ ।
‘क्याफे रेस्टुरेन्टमा आफ्नो टेस्ट र नयाँपन हुनुपर्छ । एउटा व्यवसाय डुब्नु भनेको अन्य आउने उद्यमीलाई हतोत्साहित गर्नु हो । त्यसैले पूर्ण तयारीका साथ हतार नगरी लगानी गर्नुपर्ने हुन्छ,’ उनले भने । लिम्बुले भनेजस्तै सोही क्षेत्रका रोयल विर्यानी, बगान, इम्पेरियलले दुःखद अवस्थाको सामना गरिरहेका छन् ।
व्यवस्थित होटेल रेस्टुरेन्टको असर सेकुवा कर्नरमा परेको छ । तरहराका सेकुवा कर्नरहरू नयाँ रेस्टुरेन्टको भाइब्समा रूपान्तरण भएका छन् । बेन्च र प्लास्टिकका फर्निचरको सट्टा सोफा र एसी सहितका हलहरूमा सेकुवा विक्री हुने गरेको छ । होटेल गरिमाको स्थापना सँगै फेरिएको धरान लाइनलाई ६ लेन सडक निर्माणले समेट टेवा पुर्याएको छ । ६ लेन सडक सँगै पार्किङ र धरान इटहरीको सहज आवतजावतले धरान लाइन चलायमान बन्दै गएको छ ।
सोल्टी वेस्टेण्डको म्यानेजमेन्टमा रहेको होटेल गरिमा लिमिटेडले आइपिओ खोल्ने तयारी गरेको छ । गत जेठ २३ गते एनआइएमबी एस क्यापिटलसँग रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौता गरिसकेको छ । होटेल गरिमाले स्थानीय नागरिकसँग जोडिएर व्यावसायिक यात्रा तय गर्ने सोच बनाएको सोल्टी वेस्टेण्ड इटहरीका म्यानेजर निगम खनाल बताउँछन् । स्थानीय र आगन्तुक सबैले सोल्टीको स्वाद र सेवा पाउन् भन्ने उद्देश्यले काम गरिरहेको उनको भनाइ छ ।