धरान : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माधवकुमार नेपाल र प्रचण्ड नेपाली काँग्रेसका कार्यकर्ता रहेको बताएका छन् ।

नेकपा एमाले सुनसरी जिल्ला समितिले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपाल र प्रचण्ड काँग्रेसको कित्तामा लागेको बताए । मुलुकको राजनीति काँग्रेस र एमालेको दुई धारमा केन्द्रित देखिएकोले माधव नेपाल र प्रचण्डको पार्टी काँग्रेसको कित्तामा लागेको उल्लेख गरे ।

अबको निर्वाचनमा एमाले विरुद्ध लग्नेलाई जनताले तिरस्कार गर्ने बताउँदै पोखरेलले अरू पार्टी एमालेको लोकप्रियता सँग आत्तिएको बताए । भाषणको अधिकांश समय अध्यक्ष केपी शर्मा ओली प्रति अनुग्रहित देखिएका पोखरेलले राष्ट्रवादी नेतालाई षडयन्त्र गरेर पराजित गर्न खोज्नेहरू परास्त हुने धारणा राखे ।

ओली कार्यकर्ताको बलले निर्माण भएको नेता भएकाले उनी विरुद्धको प्रहार लोकतन्त्र प्रतिको प्रहार भएको बताए । नाकाबन्दीको विरोध गर्ने साहस ओलीले मात्र गरेको र भारतले कब्जा गरेको भूमि फिर्ता ल्याएर चुच्चे नक्सा ओलीकै पालामा सार्वजनिक भएको उनको दाबी छ।