धरान : सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवार दिएको छ ।

आज बसेको मन्त्री स्तरीय बैठकले उनलाई दैनिक आर्थिक, प्रशासनिक, शैक्षिक र अन्य तोकिएका काम, कर्तव्य र अधिकार सहितको जिम्मेवार तोकेको छ ।

डा.यादवले प्रतिष्ठानको नियमावली, २०५५ को नियम ६.४ बमोजिमको कार्य गर्न पाउने छन् । आर्थिक अधिकारको प्रयोगमा यादव र महालेखा नियन्त्रकको कार्यालयबाट खटिएका अधिकृत कर्मचारीलाई संयुक्त हस्ताक्षरबाट कार्य गराउन मन्त्रालयले निर्देशन दिएको छ ।  

मन्त्रीपरिषद्को बैठक पुस ३० गतेको निर्णय अनुसार प्रतिष्ठान सञ्चालन गर्न कानुन बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि प्रतिष्ठान ऐन २०४९ को दफा २० क बमोजिम सहकुलपति मार्फत प्रतिष्ठानको स्वास्थ्य र अध्ययन सेवा अवरुद्ध नहोस् भनेर डा. यादवलाई जिम्मेवार दिएको थियो ।

माघ १० गते प्रतिष्ठानमा डा.यादवसहित कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जीवी अधिकारी आएका थिए ।

सरकारले आफूलाई उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी दिएको कपुरी न्युजसँग संक्षिप्त कुराकानी गर्दै डा. यादवले भने -'जनताले दुख नपाओस्, पठनपाठन राम्रो होस सरकारले यही चाहेको हो, धरान र धरानेले प्रतिष्ठानलाई जोगाउन लाग्नु पर्‍यो ।'

भोलि काठमाण्डौबाट प्रतिष्ठान आएर रोकिएका काम कार्वाहीहरु सुचारु गर्ने उनले बताए ।