इटहरी : राष्ट्रिय युवासंघ नेपाल सुनसरीको नयाँ कमिटी चयन भएको छ । युवा नेता सुजन लामाको नेतृत्वको ७५ सदस्यीय कमिटी गठन भएको हो ।

यसअघि अध्यक्ष मात्र चयन भएको अवस्थामा शुक्रवार कमिटीलाई पूर्णता दिइएको युवा सङ्घका केन्द्रीय सदस्य अरुण गुरुङले बताएका छन् । आसन्न निर्वाचन केन्द्रित सङ्गठन परिचालन गर्नुपर्ने भएकाले कमिटीलाई पूर्णता दिएको उनले बताए ।

लामा नेतृत्व कमिटीको उपाध्यक्षमा ब्रम्हज्ञ भट्टराई सचिवमा राकेश डाँगी चयन भएका छन् । यस्तै सहसचिव अरुण राई, सुनिल कार्की र कोषाध्यक्षमा लक्ष्मण शाहले जिम्मेवारी पाएका छन् । सबै पालिका र भूगोल मिलाएर ७५ सदस्यीय कमिटी गठन गरिएको गुरुङले जानकारी दिए ।

कमिटीले पूर्णता पाएसँगै अध्यक्ष लामाले आगामी स्थानीय निर्वाचनमा एमालेलाई विजयी गराउन लागिपर्ने बताए । एमाले नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्ने र आगामी योजना सहित जनताको घरघरमा प्रचार तीव्र पारिने उनको भनाई छ ।