इटहरी  : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कुण्ठा व्यक्त गर्न थालेका छन् । शुक्रवार सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले दुईचार हजार मान्छे उतारेर राजसंस्था नआउने बताए । राप्रपाको अध्यक्षमा पराजित भएसँगै देश दौडाहा निस्किएका उनले पूर्व राजा र अध्यक्ष लिङ्देन प्रति रोष प्रकट गरे।

पूर्वराजा शाहले निर्मल निवासबाट राप्रपामा गुटबन्दी गरेकाले आफू अध्यक्षमा पराजित भएको उनले बताए । आफू १५ वर्षदेखि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको तर अहिले त्यही संस्थाले आफूमाथि प्रहार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

अहिले राप्रपामा हस्तक्षेप गरेको निर्मल निवासले भोलि काँग्रेस एमालेमा पनि हस्तक्षेप गर्न सक्ने भन्दै थापाले बेलैमा सचेत हुन जरुरी रहेको बताए । हिन्दुराज्य र राजसंस्थाको मुद्दा बोकेर हिँडेका थापा अब हिन्दुराज्यलाई मात्र नयाँ पार्टीको मुख्य सैद्धान्तिक पक्ष बनाउने तयारीमा छन् । राजसंस्थाप्रति जनताको विश्वास नभएकाले आफू पुनर्विचार गर्न तयार भएको उनको भनाई छ।

अध्यक्ष लिङ्देनले भेटमा सम्मान व्यक्त गरे पनि राजसंस्था छाड्ने माग पुरा नगर्ने भएपछि निरीह, लाचार, अपमानित र अपहेलित भएर बस्न नसकेकाले पार्टी छाड्न बाध्य भएको बताए । फरक प्रसङ्गमा बोल्दै थापाले एमसिसी कार्यान्वयन गर्दा केही आपत्ति नहुने बताए।