झापा : झापाको मेचीनगरमा श्रंखलाबद्ध रूपमा आगलागीका घटना भइरहेका छन् । दुई ठुला उद्योगमा आगलागी हुँदा अर्बौको नोक्सानी भइसकेको छ।  शनिवार मात्र झापाको एक चाउचाउ उद्योग खरानीमा परिणत भयो । मनषा थाईफुड्सको कार्टुन गोदामबाट सुरु भएको आगोले चाउचाउ उद्योगलाई पूर्ण रूपमा खरानी बनायो । मगमग चाउचाउ र चिप्स उत्पादन गर्दै आएको उद्योगमा शनिवार बिहान ४ बजे आगलागी भएको थियो ।

उद्योगको पूर्व भागमा रहेको गोदामबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएपछि झापा, इलाम, मोरङ र सुनसरीको दमकलबाट १० घण्टापछि आगो नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  उद्योगका सञ्चालक बुद्धि घिमिरेले आगलागीबाट उद्योग शून्यमा झरेको बताए । घिमिरेले भने, ‘शून्यभन्दा पनि माइनसतिर गयो भन्न सकिन्छ । यो फोहोर उठाउन पनि अब पैसा नै त चाहियो नि।’

२०७५ साल भदौमा झापाकै व्यवसायी बुद्धि घिमिरे, अजय अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल, स्व परशुराम अग्रवालले १ अर्ब लगानीमा उद्योग सञ्चालनमा ल्याएका थिए । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । झापा प्रहरीका अनुसार भौतिक संरचना, कच्चापदार्थ, मेसिन सबै जलेकाले अहिले नै क्षतिको विवरण आई नसकेको प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको झापाका प्रहरी प्रवक्ता थापाले जानकारी दिए । केही खाने तेलका ट्याङ्की भने आगलागीबाट बचाउन सकेको उनले बताए ।

मेचीनगरमा यसै साता एसएस फुटवेयरमा आगलागी भएको थियो । काँकडभिट्टाकै एक जुत्ता उद्योगमा आगलागी हुँदा साढे आठ करोड मूल्य बराबरको क्षति भएको थियो । नगरपालिकाको दमकल बिग्रिएका कारण आगलागी नियन्त्रणमा लिन छिमेकी मुलुक भारतबाट समेत तीन वटा दमकल बोलाइएको थियो ।

ss-shoes

आज पनि मेचीनगरमा आगलागी, स्थानीयवासीद्वारा नगरपालिका विरुद्ध प्रदर्शन

mechinagar-public-strict

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टा स्थित एक घरमा आइतबार आगलागी भएको छ । मेचीनगर ६ काँकडभिट्टाको साठ्ठि बिघास्थित पासाङ तामाङको घरमा आगलागी भएको हो ।आगलागीका कारण घरमा रहेका दुई वटा ग्याँस सिलिन्डर पड्किएका छन् भने आगो सल्केर अन्य दुई घरमा समेत क्षति पुर्‍याएको छ । आगलागीको कारण खुल्ने नसेकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिल सिंह दाहालले जानकारी दिए ।

मेचीनगर नगरपालिकाको दमकल नपुग्दा स्थानीयबासीहरूले सडक बन्द गरेर नगर प्रमुख र उपप्रमुखका विरुद्ध आन्दोलन गरेका थिए । लामो समयदेखि बिग्रेको मेचीनगर नगरपालिकाको दमकल मर्मत गरेर सञ्चालनमा आएको भएता पनि हिजो उक्त नगरपालिकामै रहेको एक चाउचाउ उद्योगमा लागेको आगो निभाएर फर्कने क्रममा चारआली बजारनजिकै पुनः बिग्रिएर थन्किएको छ।