पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारका अग्नि पीडितलाई उद्योग वाणिज्य सङ्घ शाखा यासोकले आर्थिक सहयोग गरेको छ ।

शनिवार साँझ भएको आगलागीका कारण घर सहित पाँच वटा पसल जलेर नष्ट भएको थियो । स्थानीय झरेन्द्र खतिवडाको घर सहित पाँच वटा पसल जलेर नष्ट भएपछि उद्योग वाणिज्य सङ्घ शाखा यासोकले १ लाख ४९ हजार १ सय रुपैयाँ सङ्कलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

सङ्घको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पीडित पाँच व्यवसायीलाई आर्थिक सहयोग गरेको हो । आगलागीबाट सबै भन्दा बढी क्षति झरेन्द्र खतिवडाको भएको थियो । उनको तीन तले घर सहित इलेकट्रोनिक पसल जलेर नष्ट भएको थियो ।

खतिवडालाई सङ्घका संस्थापक अध्यक्ष गोपाल प्रसाद पोख्रेलले ८९ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् । त्यस्तै अर्का व्यवसायी याम रम्तेल र टेक बहादुर नेपाली (बिचारी) लाई २० हजारका दरले रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै मिलन गड्तौला र शर्मिला लावतीलाई १२ हजार ५ सयका दरले कुल १ लाख ४९ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको सङ्घका महासचिव महेन्द्र खड्काले जानकारी दिए । 

शनिवार साँझ जुत्ता पसलको कोठाबाट विद्युत सट भई भएको आगलागीबाट पाँच व्यवसायीको करोडौँ रुपैयाँको क्षति भएको थियो । आगलागीबाट सर्वस्व गुमाएका व्यवसायी झरेन्द्र खतिवडाले आफ्नो परिवारको सर्वस्व गुमेको स्मरण गर्दै सबैको सहयोगले आत्मबल बढेको बताए । उद्योग वाणिज्य सङ्घ शाखा यासोकले राहत सङ्कलन अभियानलाई निरन्तरता दिने सङ्घका निवर्तमान अध्यक्ष नरेन्द्र बोहराले बताए  ।