धरान : कोरोनाको तेस्रो भेरियन्टको कारण स्थगित दोस्रो अशोक स्मृति बास्केटबल रनिङ कप बास्केटबल प्रतियोगिता धरानमा सुरु भएको छ ।

आज भएको खेलमा आयोजक डायनामिक यूथ क्लब बीपी प्रतिष्ठान, मिराकल, व्रदर्स र यलम्वर क्लब विजयी भएका छन् । डायनामिकले युवा जागृतिलाई ६९-२७, मिराकलले बेलबारीलाई ६३-२४, व्रदसले तरहरालाई ५८-१९ र यलम्वरले होराइजनलाई ५२–३९ अङ्कको अन्तरले पराजित गरेका थिए ।

हिजो भएको क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो खेलमा डायनामिक र युवा जागृतिले ११–३,१७–१२, २६–२ र १५-१०, मिराकल र बेलबारीले १५-३, २१-७, १६-४ र १३-१०, व्रदर्स र तरहराले ११-६, ८-४, २१-४ र १८–५ र चौथो खेलमा यलम्वर र होराइजनले ८-४, १५-१२, १६–११ र १४–१२ अङ्क जोडेका थिए ।

पहिलो खेलमा डायनमिकका त्रिलोक बास्तोलाले व्यक्तिगत १५ अङ्क जोडेका थिए । त्यस्तै गरी दोस्रो, तेस्रो र चौथो खेलमा क्रमशः बेलबारीका नवीन राईले १३, व्रदर्सका सव्रोधन राई र कविन मगरले १३/१३ र यलम्वरका दिवस राई र सविन राईले १२ / १२ बराबर व्यक्तिगत अङ्क जोडेका थिए ।

प्रतियोगिता पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रवि वास्फोरका दिवङ्गत बुवा अशोक वास्फोरको स्मृतिमा आयोजना गरिएको हो । प्रतियोगिताको आयोजक डायनामिक यूथ क्लब, बीपी प्रतिष्ठान रहेको छ ।

हिजो देखि सुरु भएको प्रतियोगिताको उद्घाटनमा कार्यक्रमका प्रमुख अतिथि बीपी प्रतिष्ठानका डिपुटि डाइरेक्टर डा. विकास शाह, विशेष अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र बास्केटबलका दिवङ्गत अशोक वास्फोरका श्रीमती इन्द्रावती बास्फोरले अशोक वास्फोरको तस्बिरमा माल्यार्पण गरी द्विप बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

फागुन १४ सम्म सम्पन्न हुने प्रतियोगितामा धरान , तरहरा, झापा र बेलबारीका दश टिमले सहभागिता जनाएका छन् । सहभागी टिमहरू आयोजक डायनामिक यूथ क्लब, व्रदस, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, बेलबारी , तरहरा र झापा रहेको छ ।

प्रतियोगिताका विजेता टिमले नगद पचपन्न हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरी उत्कृष्ट खेलाडीले नगद ४ हजार,  बास्केटबल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेलको दिन २.० थ्री पोइन्ट कम्पिटिसन समेत सम्पन्न हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । लिगकम नकआउटको आधारमा सम्पन्न हुने प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटबल सङ्घको रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल बीपी प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

Basketball