धरान : गत बुधवार धरान-४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा फेला परेको शवको सनाखत भएको छ । 

हत्यामा संलग्न २ जना रहेको र उनीहरुलाई विराटनगरबाट गएराति पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । 

घटनाको बारेमा अहिले प्रहरीले केही जानकारी दिएको छैन । घटनाबारे विस्तृत जानकारी गराउन इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले भने हत्यारा पक्राउ परेका छन् र शवको सनाखत भएको छ, पत्रकार सम्मेलनका लागि हामी तपाईँहरूलाई खबर गर्छौ, र अनि डिटेल दिन्छौ ।’ 

गएको बुधवार र बिहीबार धरान भेडेटार सडक खण्डको आपगाँछी क्षेत्र जङ्गलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरू काटेर फालेको अवस्थामा शव भेटिएको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई कार्यालय, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले अनुसन्धान गरिरहेको थियो ।