धरान : गत बुधवार धरान-४ स्थित धरान-भेडेटार सडक खण्डको जङ्गलमा छुट्टा छुट्टै जेब्रा झोलामा शव भेटिएका व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन । 
टुक्रा टुक्रा र अलग अलग जेब्रा झोलामा भेटिएको शवको बारेमा प्रहरीले जोडतोडका साथ अनुसन्धान गरिरहेको भए पनि ६ दिन बित्दा समेत मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतको स्केच र हुलिया सार्वजनिक गरेको छ । 
अलग अलग जेब्रा झोलामा भेटिएको शव कसको हो भनेर अझै सनाखत हुन नसक्नुले प्रहरी अनुसन्धानमा समेत समस्या देखिएको छ ।सनाखत हुन नसके पछि धरान प्रहरीले पुनः मृतकको अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको छ । यो सँगै हुलिया समेत सार्वजनिक गरी सूचना समेत प्रसारण गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । 
डिएसपी नरेन्द्र कुँवरका अनुसार मृतक को हुन् भनेर सनाखत हुन नसकेपछि स्केच बनाएर सार्वजनिक गरिएको हो । यो स्केच अपराध महाशाखाबाट तयार गरिएको पनि उनले जानकारी दिए । डिएसपी कुँवरले भने,‘मृतक को हुन् भनेर सनाखत हुन सकेन । कोही आफन्तजन पनि सम्पर्कमा आएको छैन । त्यसैले ब्युरोबाट स्केच बनाएर सार्वजनिक गरी ७ वटै प्रदेशका प्रहरी कार्यालयहरूमा पहिचानका लागि हुलिया सहितको सूचना र स्केच जारी गरिएको डिएसपी कुँवरले बताए । 
गत बुधवार धरान-४ को धरान-भेडेटार सडक खण्डको जेठामाने गोलाई नजिक जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले जेब्रा झोला देखेको र सो झोलाबाट दुर्गन्ध आएकोले शङ्का लागि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले झोला खोलेर हेर्दा मानिसको टाउको र दाहिने खुट्टा फेला परेको थियो । त्यसको भोलिपल्ट बिहीबार बिहान प्रहरीले फेरी अर्को जेब्रा झोलामा बाँकी शरीर पहिले टाउको र खुट्टा भेटिएको स्थान भन्दा करिब १ किलो मिटर माथि जङ्गलमा फेला पारेको थियो । 
सङ्घीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले यो घटनाको गम्भिररुपमा अनुसन्धान गरिरहेको छ ।
तर पनि अहिले सम्म शवको पहिचान हुन नसक्दा समस्या भएको छ । घटनास्थलबाट प्रहरीले अहिले सम्म कुनै किसिमको पहिचान खुल्न सक्ने बस्तु फेला पार्न सकेको छैन । फेला परेको शव अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । 
Sab-a
Sab-b
Huliya