धरान : जनता समाजवादी पार्टी (जसपा) धरानका नगर सदस्य अरुण लिम्बुसहित ४१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

मङ्गलवार काँग्रेस १६ नं. वडा समितिले आयोजना गरेको एक कार्यक्रममा जसपा धरानका नगर सदस्य लिम्बुको नेतृत्वमा पार्टी परित्याग गरी ४१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका काँग्रेस प्रदेश एकका महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, नगर सभापति श्याम पोख्रेल, महासमिति सदस्य चित्राकुमारी राई, बुथ सभापति किरण आचार्य लगायत नेताहरूले खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सरकारले घोषणा गरिसकेको बताउँदै महामन्त्री उमेश थापाले भने, ‘सम्पूर्ण जनताहरू निर्वाचनमा होमिन लागिरहेको अवस्थामा अहिले फेरी २०७२ सालको संविधानमा प्राप्त उपलब्धिहरूको रक्षाका लागि गठबन्धन बनेको थियो, त्यो गठबन्धनको सरकार पनि अब टिक्ने हो कि हैन भन्ने प्रश्न हामी माँझ अहिले आएको छ ।’ उनले अहिले नेपालमा एमसिसि ठुलो हाउगुजी बनेर आएको जनाउँदै एमसिसिको कारणले गर्दा समाज नै दुर्गन्धित अवस्थामा पुगेको बताए । 

समय मै एमसिसिको बारेमा जनतालाई बुझाउन नसक्दा यस्तो परिस्थिति सिर्जना भएको उनको भनाई थियो । उनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा एमसिसि मुख्यालयमा निवेदन दिएर आएको विशुद्ध अनुदान रहेको जनाए । एमसिसि परियोजना संसारका धेरै देशमा लागू भएको बताउँदै उनले यो परियोजना नेपालीको हितमा रहेको बताए । ‘ती कुनै पनि देशमा अमेरिकी सेना गएको पनि छैन र नेपालमा पनि आउँदैन, ज-जसले अहिले एमसिसिको विरोध गरिरहेको छ’ उनले भने, ‘ भीम रावललाई पनि थाहा छ, नारायणकाजी श्रेष्ठलाई पनि थाहा छ, यी दुवै जना हिजो सरकारमा थिए, वहाँहरूको पालामै एमसिसि आको छ, एमसिसि के हो ? भनेर दुवै जनालाई स्पष्ट थाहा छ ।’

काँग्रेस जिल्ला सचिव माधव घिसिङले मुलुकभर नै कम्यूनिष्टहरुले राष्ट्र र जनताको हित विपरीत काम गरेको कारण आम जनताहरूको नेपाली काँग्रेस प्रति विश्वास बढ्दै गएको बताए । उनले आज जसपाका नगर सदस्य लिम्बुको नेतृत्वमा पार्टी परित्याग गरी काँग्रेसको सिद्धान्त, नीति बुझेर ठुलो सङ्ख्यामा पार्टी प्रवेश गरेको दाबी गरे । समाज परिवर्तन गर्न सक्ने पार्टी नै काँग्रेस रहेको उनको भनाई थियो । उनले जहानियाँ राणा शासनको अन्त्यदेखि लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याउन ऐतिहासिक पार्टी नेपाली काँग्रेसको अहम् भूमिका रहेको बताए । उनले कम्यूनिष्टहरुको भ्रम र आश्वासनले मुलुकमा विकास नभएको आरोप पनि लगाए । 

कार्यक्रममा नगर सभापति श्याम पोख्रेलले धरानका सबै वार्डहरूमा काँग्रेसको क्रियाकलापहरू अहिले सही ढङ्गबाट अघि बढिरहेको बताए । उनले पार्टीलाई मर्यादित र अनुशासित बनाउनका लागि सबै वार्डहरूमा प्रशिक्षण कार्यक्रम गराइने पनि जनाए ।