इटहरी : नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले मेयरको उम्मेदवार बन्ने घोषणा गरेका छन् । मंगलबार सुन्दरहरैंचा-७ को टोल समिति गठन कार्यक्रममा उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । 
कोइराला प्यानलबाट नगर सभापतिमा उम्मेदवार भएको बेला नै मेयरको टिकट दिने सहमति भए अनुसार आफू अगाडी बढेको उनले बताए । मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ आफैले टिकट दिलाउने बाचा गरेको उनले सुनाए । 
पछि तामाङले छुट्टै मेयरको उम्मेदवार बन्ने घोषणा गर्दै हिडेपछी आफू अग्रसर भएको सिटौलाको भनाई छ । तामाङले केहिदिन अगाडी सुन्दरहरैचा-५ को टोल समिति गठन कार्यक्रममा आफू मेयरको उम्मेदवार बन्ने तयारीमा रहेको घोषणा गरिसकेका छन् । 
पार्टीलाई मजबुत बनाउने र सुन्दरहरैंचाको विकाशको नेतृत्व लिनेगरि आफू अगाडी बढेको उनले प्रष्ट पारे । नेताहरूले अगाडी बोलेको बाचा पुरा नगरेको स्मरण गर्दै राजनीतिमा इमान्दारीताको खाँचो रहेको बताए । “यसअघि दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेको मान्छे नगरमा उठ्दिन भनेँ । हैन तपाईँले नगर चलाईदिनुपर्यो टिममा जित्ने अरू उम्मेदवार भएनन् भनेर मलाई सभापति बनाइयो । मेयरको टिकट फिक्स भएपछि मैले पनि नगर सभापतिमा मन्जुर भएको हुँ । अहिले त्यसको पालना भएको देखिँदैन,” उनले भने । 
सोही कार्यक्रममा तरुण दलका युवा नेता अनुरोध साहले भक्ति सिटौलाको घोषणाले ऊर्जा मिलेको बताए । पार्टीमा योगदान पुर्‍याएको र इमान्दार व्यक्तिले नगर चलाउनु खुसीको कुरा रहेको उनको भनाई छ । पार्टीभित्रको आन्तरिक कलह त्यागेर सिटौलालाई विजयी गराउन लाग्नुपर्ने उनले सुनाए ।