धरान : डायनामिक यूथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा आइतबार देखि सुरु भएको दोस्रो अशोक स्मृति बास्केटबलको तेस्रो दिनको खेलमा ब्रदर्स , तरहरा, होराइजन र हाम्रो कलेक्सन टिम विजयी भएका छन् । 

हिजो मङ्गलवार भएको खेलमा ब्रदर्सले आयोजक बेलबारीलाई ७१-२४, तरहराले बिर्तामोडलाई ५१-५०, होराइजनले युवा आयोजक डायनामिकलाई ६२-४२ र हाम्रो कलेक्सनले यलम्वरलाई ६१-३० अङ्कको अन्तरले पराजित गरेका थिए ।

तेस्रो दिनको पहिलो खेलमा ब्रदर्स  र बेलबारीले प्रत्येक क्वाटरमा १५-२, १६-१४, १८-३ र २२-५  र दोस्रो खेलमा तरहरा र बिर्तामोडले १४-१२, ११-८, ८-१४ र १८-१६ अङ्क जोडेका थिए । त्यस्तै गरी तेस्रो खेलमा होराइजन र आयोजक डायनामिले १६-९, १३-११, १९-१२ र १४-१० र चौथो खेलमा हाम्रो कलेक्सन र यलम्वरले १२-२, १८-११, १२-६ र १५-११ अङ्क जोडेका थिए । पहिलो खेलमा ब्रदर्सका सुजन राईले २२, बिर्तामोडका जेनिस सिंहले २२, तेस्रो खेलमा होराइजनका सुदिप राईले २३ र चौथो खेलमा हाम्रो कलेक्सनका विवेक श्रेष्ठले १३ अङ्क व्यक्तिगत जोडेका थिए ।

लिग कम नकआउटमा सम्पन्न हुने प्रतियोगिताको चौथो दिन आज ब्रदर्स  र बिर्तामोड, तरहरा र मिराकल बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै गरी भरै साँझ होराइजन र हाम्रो कलेक्सन र युवा जागृति र यलम्वर बिच प्रतिस्पर्धा गर्नेछ ।

फागुन १४ गते सम्म सम्पन्न हुने प्रतियोगिता पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रवि वास्फोरका दिवङ्गत बुवा अशोक वास्फोरको स्मृतिमा आयोजना गरिएका हुन । प्रतियोगिताका विजेता टिमले नगद पचपन्न हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरी उत्कृष्ट खेलाडीले नगद ४ हजार,  बास्केटबल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लिग कम नकआउटको आधारमा सम्पन्न हुने प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटबल सङ्घको रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल बीपी प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।