इटहरी : मोरङको सुनवर्षी नगरपालिकाकी उपमेयर मञ्जु राईले आसन्न स्थानीय तह निर्वाचनमा मेयरमा दाबेदारी प्रस्तुत गरेकी छिन् । खुलेरै प्रचारप्रसार अगाडी बढाएकी उनले आफूले स्थानीय तहको नेतृत्व गर्ने क्षमता बढाएको बताएकी हुन् । 
नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी राई स्थानीय स्तरमा प्रभावशाली नेतृको रूपमा परिचित छिन् । २०७४ सालमा स्थानीय तह निर्वाचनमा एमालेकी उम्मेदवार मिरा दासलाई पराजित गरेपछि उनको राजनैतिक सक्रियता झनै बढेको छ। 
काँग्रेसकै कालीप्रसाद दास सुनवर्सी नगरपालिकाका मेयर छन् । आफन्तको भर्ती केन्द्र बनाएको र अनावश्यक जनतालाई दुःख दिएर भ्रष्टाचार गरेको आरोप लागेपछि दास आलोचित देखिएका छन् । उता राईले भने आफ्नो तलबबाटै सुत्केरी खाना देखी बालबच्चा पढाउन खर्च गरेको भन्दै उनको तारिफ हुन थालेको छ । 
पार्टी कार्यकर्ता देखी जनताले नै मेयर बन्न दबाब दिएको बताएकी उनले नगरपालिकाको खर्च घटाउन आफूले अहिलेसम्म सहयोगी समेत नराखेको बताइन् । नगरवासीको गरिबी हटाउने मुख्य लक्ष्य राखेर मेयरमा उम्मेदवारी दिने उनको योजना छ।  
“मुख्यतः शिक्षा र स्वास्थ्य र सिँचाई प्राथमिकता राखेर काम गर्छु । गरिब जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनु हाम्रो कर्तव्य हो । स्वास्थ्यमा सहज पहुँच स्थापित गराउँछु । कृषि उपज उत्पादन बढाउन किसानको बाझो खेतमा उब्जनी हुनुपर्छ । त्यसको लागी सिँचाइको व्यवस्था मिलाउनु छ । बाँझो खेत देख्दा मेरो मन दुखेको छ ।,” उनले भनिन्,  “सुकुम्वासीलाई कसरी आत्मनिर्भर बनाउने भन्ने छ । धनाढ्यहरूले ऐलानी जग्गा कब्जा गरेका छन् त्यसलाई सुकुम्वासीको निर्भरता सँग जोड्नु छ । जनताका साना काम छन् । त्यसैलाई सम्बोधन गर्न सके धेरै उपलब्धि हुन्छ ।” 
मितेरी साइनोबाट प्रभाव विस्तार गर्दै आएकी छिन् । विभिन्न समुदायका महिला सँग मितेरी सम्बन्ध विस्तार गर्दै प्रतिस्प्रधिलाई आफ्नो बनाउने उनको रणनीति छ । मितेरी साइनोले प्रभाव बढाउन उनका बा-आमाले नै सिकाएका हुन् । छोरीहरूले पनि मित लगाएर साइनो सम्बन्ध बढाइरहेका छन् ।
दलित तथा पिछडा वर्गका महिला सँग उनले सम्बन्ध बढाउने गरेको सुनाइन् । १४ औँ महाधिवेशनको दौरानमा महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धी देखिएकी कलावती राजवंशी सँग उनले मित लगाइन् । मितेरी साइनो भएपछि राजवंशीले राईलाई नै समर्थन गरिन् । पछि राई सर्वसम्मत महाधिवेशन प्रतिनिधि भइन्।