इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा गठबन्धन नहुने बताएका छन् । 
वर्तमान सरकार काँग्रेसको बाध्यात्मक गठबन्धन भएकोले आगामी निर्वाचनमा काँग्रेस एक्लै भिड्ने बताएका हुन् । चुनाव विचारको लडाइ भएकाले कम्युनिस्ट सँगै बिचार नमिल्ने भएपछि गठबन्धनको जरुरत नपर्ने उनको बुझाइ छ ।
नेपाली काँग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठीको प्रमुख अतिथि रहेका कोइरालाले कार्यकर्ताले गठबन्धन नचाहेको धारणा राखे । आसन्न निर्वाचनको विषयलाई लिएर फरक गुटको भन्दै पोल लगाउन नआउने आग्रह गरे । अधिवेशनको समयमा मात्र टिम रहेकाले अब गुटबन्दीको कुरा नगर्न कार्यकर्तालाई आग्रह गरे । 
१४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइरालाले प्रधानमन्त्री समेत रहेका देउवालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 
काँग्रेस जे बोल्छ त्यो गर्छ । प्रतिपक्ष र सत्ता जे मा हुँदा पनि एउटै भाषा बोल्छ । एमसिसिको विषयमा काँग्रेसको एउटै धारणा रह्यो, उनले भने ।