झापा : उत्तम राई निर्णायक बन्दा सङ्कटा क्लब झापामा जारी पाँचौँ संस्करणको झापा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सङ्कटाले क्वाटरफाइनल स्थान बनाएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आइतबार भएको खेलमा सङ्कटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण सङ्कटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रामक बने पनि स्कोर भने सङ्कटाले मात्र गर्न सफल भयो ।

खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक सङ्कटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए ।

५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो।

त्यस्तै, १६ औँ मिनेटमा सङ्कटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए । २२ औँ मिनेटमा सङ्कटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । सङ्कटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।

आइतबारको खेलको प्लेयर अफ द म्याच विजेता टिम सङ्कटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईँले प्रतियोगिताभर गरेका छन् । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकरले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ ।

प्रतियोगिता अन्तर्गत सोमबारको क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो यूथ क्लबबिच हुनेछ । एपिएफ सोझै क्वाटरफाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो । 

man-of-the-matcha-jhapa